
सन्दीप श्रेष्ठ
काठमाडौं । सरकारी स्वामित्वमा रहेको केसर पुस्तकालय बारे तपाईं कति जानकार हुनुहुन्छ ? ११ सय वर्ष पुराना हस्तलिखित पुस्तकदेखि इतिहास र संस्कृतिका ६० हजार बढी पुस्तक यहाँ संग्रहित छन् । लोकसेवा तयारी गरिरहेका परीक्षार्थी, विश्वविद्यालयका अध्यता पुस्तकालयका प्रमुख उपभोक्ता हुन् । आश्चर्य त के छ भने नयाँपुस्ताका किशोरकिशोरीहरु पुस्तकालयको पाइलो टेकेका छैनन् ।
बिक्रम संवत १९०७ देखि २०२५ सालसम्म राणा परिवारले चलाएको यो पुस्तकालय २०२६ सालदेखि नेपाल सरकारको स्वामित्वमा आएको हो । श्री ३ चन्द्रसम्सेरले छोरा केसरसम्सेरका लागि यो पुस्तकालय खोलिदिएका थिए । ११ सय वर्षअघि प्रकाशित सुश्रुतसंहिता पुस्तकालयकै गहना हो । पुस्तकालयमा ६ सय ७५ हस्तलिखित पुस्तक छन् भने २७ हजार दुर्लभ पुस्तकको संग्रह गरिएको केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादव बताउनुहुन्छ ।
दुर्लभ पुस्तक संरक्षणमा त्यतिक्कै चुनौति छ । सामान्य पुस्तकालयका पाठ्यसामग्री डिजिटल प्रविधिमा जाने गरेको अवस्थामा केसर पुस्तकालयले पनि १५ सय दुर्लभ पुस्तक डिजिटल प्रविधिमा राखेको छ । डिजिटल गर्नैपर्ने कतिपय पुस्तक भने कपीराईटका कारण हुन नसकेको प्रमुख यादव बताउनुहुन्छ ।
२०७२ सालको भूकम्पपछि पुस्तकालयका किताव जोगाउन हम्मे हम्मे परेको थियो । पुरानो भवन भत्किएपछि अहिले टहरोमा पुस्तकालय व्यवस्थापन गरिएको छ । सरकारको संरक्षणमा रहेको पुस्तकालयमा अपेक्षित अध्यता नआउनु यसको व्यवस्थापकीय कमजोरी हो । काठमाडौं उपत्यकामा रहेका साना, ठूला सबै शैक्षिक प्रतिष्ठानमा यस पुस्तकालयको प्रचारप्रसार गरी अध्यतासँगै अवलोकन बढाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्