
काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ ।
चालु आर्थिक वर्षको बजेटमा गरिएको घोषणाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो ।
सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेना गृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले यसको सुरुआत गर्नुभएको हो । खाना पकाउने ग्यासमा मात्रै मुलुकको ठूलो धनराशि बाहिरिएपछि सरकारले आन्तरिक रुपमा बिजुली खपत गराउने लक्ष्यका साथ बजेटमा नै नीतिगत प्रबन्ध गरेको हो ।
अर्थमन्त्री शर्माले आज अर्थ मन्त्रालयको क्यान्टिनबाट विद्युतीय चुल्होको प्रयोग गरिएको जानकारी दिँदै छिट्टै सबै मन्त्रालय र विभागका क्यान्टिनबाट एलपी ग्यास विस्थापन गर्न आग्रह गर्नुभयो । उहाँले मातहतका सबै निकायलाई तत्काल यस प्रक्रियामा सहभागी हुन निर्देशन दिनुभएको जानकारी गराइएको छ ।
सरकारले उपभोक्तालाई पनि विद्युतीय चुल्होको प्रयोग गर्न आग्रह गरिरहेको छ । गएको बर्षमात्र झन्डै ३ खर्ब बराबरको त पेट्रोलियम पदार्थ मात्रै आयात भएको छ । पेट्रोलियम पदार्थको विस्थापनका लागि विद्युतीय चुल्होको प्रयोग नै उपयुक्त विकल्प रहेको सरकारी भनाइ रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्