२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय


819
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुने बताउनुभयो । उहाँले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताउनुभयो ।

डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताउनुभयो । उहाँले बैठकले पार्टीको केन्द्रिय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताउनुभयो ।

उपमहासचिव डा. तुलाधरले बुधबारको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताउनुभयो । उहाँले यी तीन कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउने बताउनुभयो । उहाँले केन्द्रिय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताउनुभयो ।