१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


भारतीय कूटनीतिज्ञ जयन्तप्रसादले भने सेनाप्रमुख नरावणेको नेपालबारेको टिप्पणी अनुचित


0
Shares

काठमाडौं, जेठ १० । भारतीय कूटनीतिज्ञ जयन्त प्रसादले भारतका सेना प्रमुखले नेपालसम्बधमा हालै दिएको अभिव्यक्ति उचित नभएको टिप्पणी गरेका छन् ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरावणेले नेपालमा भारतसँगको सीमा विवादलाई लिएर भइरहेको विरोध अरु कसैको उक्साहटमा गरिएको अभिव्यक्ति दिएका थिए ।

नरावणेको उक्त अभिव्यक्ति खराब बयान अर्थात् इल एडभाइज्ड रहेको नेपालका लागि भारतका पूर्वराजदूत समेतरहिसकेका जयन्त प्रसादले बताएका हुन् ।

भारतीय अंग्रेजी दैनिक ‘द हिन्दु’ मा शनिबार ‘लोअर द टेम्परेचर, डिफ्युज द इस्यू’ शीर्षकको लेख प्रकाशित गर्दै राजदूत प्रसादले सेना प्रमुखको अभिव्यक्तिले त्यो अरु कसैका लागि समस्या बढाउन सहज पार्ने आशंका गरेका छन् ।

सेना प्रमुख नरावणेले दिल्लीको इन्स्टिच्युट फर डिफेन्स स्टाडिज एण्ड एनालिसिसद्वारा आयोजित एक कार्यक्रममा लिपुलेकसँग जोडिने भारतीय सडकको उदघाटनपछि नेपालमा भएको विरोध नाम नलिई चिनियाँ उक्साहटमा भइरहेको संकेत गरेका थिए ।

राजदूत प्रसादको टिप्पणी त्यतिबेला आएको छ, जतिबेला दुबै पक्ष आ–आफ्ना अडानका साथ पेश भएका छन् तर वार्ताकै माध्यमबाट समस्याको हल खोज्न सहमति पनि व्यक्त गरेका छन् ।

नेपाल–भारत सम्बन्ध बिग्रँदा अरुले त्यसको फाइदा उठाउने हुँदा अहिले चढेको पारो तल झार्दै समस्या समाधानमा लाग्नुपर्ने राजदूत प्रसादले बताएका छन् । सार्वजनिक रुपमा विवाद चर्काउँदा दुई पक्षीय मित्रता प्रत्युत्पादक हुने खतरा उनले औल्याएका छन् ।

राजदूत प्रसादले लेखमा भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुले नै नेपाल दक्षिण एशियामा सही अर्थमा एक मात्र स्वतन्त्र देश रहेको बताएको स्मरण गराएका छन् । भारतीय नेतृत्व र भारतीय जनता यस अर्थमा पनि नेपाली जनताको स्वाभीमान र गर्वप्रति सचेत रहेको उनले लेखमा उल्लेख गरेका छन् ।