२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन


3.419k
Shares

काठमाडौं । गृह मन्त्रालयले ‘लघुवित्तविरुद्धको संघर्ष समिति’लाई कारबाही गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति भ्रामक र कपोलकल्पित आरोप लगाई भ्रम छर्ने कार्य सुरु भएकोले उक्त संघर्ष समितिविरुद्ध कारबाही गर्न निर्देशन दिएको जनाएको छ ।

देशको प्रचलित कानुनबमोजिम दर्ता भई नियामक निकायबाट सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुप्रति हाल केही व्यक्ति तथा लघुवित्तविरुद्ध संघर्ष समिति नामक अवैधानिक समूहले सुनियोजित रुपमा लघुवित्त संस्थाहरुप्रति भ्रम छर्न भ्रामक र कपोलकल्पित आरोप लगाएको भन्दै गृहले प्रहरीलाई कारबाही अघि बढाउन निर्देशन दिएको हो ।

लघुवित्त कार्यक्रम नै प्रभावित हुनेगरी लघुवित्त विरुद्ध अनर्गल प्रचार प्रसार गरी लघुवित्तका सदस्यलाई भड्काउने काम गरेको भन्दै लघुवित्त बैकर्स संघले मन्त्रालयमा उजुरी गरेको थियो । यसैको आधारमा कारबाहीको लागि निर्देशन दिइएको गृहले जनाएको छ ।

मनिराम ज्ञवालीको संयोजकत्वमा लघुवित्तीय संस्था बिरुद्दको संघर्ष समिति गठन गरेर समितिले नेपालका बिभिन्न ठाउँमा पुगेर लघुवित्तले साहुमहाजन भन्दा बढी ब्याज लिएको भन्दै आन्दोलन गर्दै आएको छ । २० प्रतिशत भन्दा बढी ब्याजमा कर्जा लिएर न्यून आय भएकामाथि शोषण गरेको आरोप लगाउँदै समिति लघुवित्त नै खारेजी हुनुपर्ने भन्दै आन्दोलित छ ।