
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेल जितका लागि नै खेल्ने बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)मा बिहीबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक हुमागाइले राष्ट्रिय टोलीको जिम्मा पाउनु आफ्नो लागि महत्वपुर्ण कुरा भएको बताए ।
नेपाली मूलका अमेरिकी नागरिक हुमागाईले कर्मभूमि छाडेर जन्मभूमिमा जित्ने लक्ष्यका साथ आएको दाबी गरे । यसअघि क्लब र एकेडेमीको टोलीलाई सम्हालेका हुमागाइले यो आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् ।
प्रशिक्षकको जिम्मेवारी पाएपछि हुमागाईंले अलमुताइरीसँगको विवादमा क्याम्प छाडेका ११ खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका छन् । उनले अलमुताइरी र खेलाडीबीचको कुरा आफुले सञ्चारमाध्यमबाट नै थाहा पाएकाले यो विषयमा भने केही नबोल्ने बताए । बंगलादेशसगको मैत्रीपुर्ण खेलका लागि आफुहरुसँग छोटो समय रहेकाले छिटोभन्दा छिटो टोली घटाउने उनले बताए ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा रहेका कारण एन्फाले हुमागाइलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो । कतार फुटबल संघको सहयोगमा नेपाल आएका अलमुताइरीको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन । कुवेतमा भएको एसियन कप छनोट खेलपछि अलमुताइरी तिन महिनाको बिदामा बसेको बताएको छ । राष्ट्रिय टोलीको औपचारिक प्रशिक्षण भोलिदेखि आर्मीको मैदानमा हुने छ ।
प्रतिक्रिया दिनुहोस्