
सिन्धुली । पछिल्ला समयमा सिन्धुलीमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ ।
जिल्लामा बढ्दो शहरीकरण र राजमार्ग आसपासका होटलहरुमा माछाको माग बढेसँगै व्यवसायिक माछा पालन व्यवसायमा किसानको आकर्षण बढ्दै गइरहेको हो ।
उर्वराभूमि र मलिलो माटो बिना नै सिमसार जमिनमा पलाएको पानी जम्मा पारेर बनाएको पोखरीमा माछा पालन व्यवसाय संचालन गरेपछि सिन्धुली जिल्लाका कमलाखोच र मरिण क्षेत्रका माछा पालक किसानहरुले लाखौ आम्दानी गर्न सफल भएका छन् ।
विगत केही वर्ष अगाडिदेखि उनीहरुले कृषि ज्ञान केन्द्र सिन्धुली र विभिन्न गैह्रसरकारी संघ/संस्थाहरुको सहयोगमा सुरू गरेका निम्न पूँजीका व्यवसायहरु पछिल्लो समयमा ठूला व्यवसायको रुपमा फस्टाएका छन् ।
आफ्नै खेतमा खनेको पोखरीमा माछाका भुराहरु हालेको एक वर्षमा ३ देखि ६ किलो सम्मका माछा हुने गरेकाले यो व्यवसायबाट राम्रो आम्दानी गर्न सजिलो भएको कमलाखोचका किसान मिन कार्कीले बताउनुभयो ।
स्थानीय रुपमै माछा पोखरीमा ताजा माछा पाईने भएकाले माछाका पारखीहरु ताजा माछा किन्न सिन्धुलीमाडी, उदयपुरको कटारी र सिराहाको मिर्चैयाबाट समेत सोही स्थानमा आउने गरेको उहाँले बताउनुभयो ।
सिन्धुलीमा व्यवासायिक माछा पाल्नेहरुले पोखरीमा हालेका रौं, नयन सिल्भर कार्प, कमलकार्प बुहारी लगायतका माछाहरु उत्पादन गर्ने गर्दछन् ।
उत्पादित माछाका लागि बजारको कुनै समस्या नरहेको किसानहरु बताउँछन् । माछाको बिक्रीबाट एक माछा पालक किसान समूहले बार्षिक रुपमा २० लाखदेखि ३५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको उनीहरु बताउँछन् ।
अन्य व्यवसायको तुलनामा माछा पालन व्यवसायबाट राम्रै आम्दानी भैरहेको कार्कीले बताउनुभयो ।
सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा यसवर्ष गरिएको माछा पालन व्यवसाबाट करिब ९ करोडको हाराहारीमा आम्दानी हुने अनुमान समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्