१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बन्चरेडाँडाको फोहोरमा काम गर्ने सयौं सफाई मजदुरको स्वास्थ्य अवस्था जोखिममा

३६५ दिन नै फोहोरको थुप्रोभित्र काम, माम र दाम खोज्ने समुदायको अवस्था दयनीय

780
Shares

काठमाडौं । काठमाडौंका सडकमा थुप्रिएको फोहोरले स्वास्थ्यको जोखिम बढेको बहस चलिरहेको छ ।

यत्र, तत्र, सर्वत्र फोहोरै फोहोरको साम्राज्य रहेको बन्चरे डाँडामा काम गर्ने सयौं सफाई मजदुरको स्वास्थ्य अवस्था जोखिममा देखिएको छ । फोहोर व्यवस्थापनको सवाल उठ्दा उनीहरुको स्वास्थ्यबारे सबै बेखबर छन् । ३ सय ६५ दिन नै फोहोरको थुप्रोभित्र काम, माम र दाम खोज्ने समुदायको अवस्था दयनीय छ ।

अन्जु सेढाईंका लागि फोहोरमा खेल्नु दिनचर्या बनिसकेको छ । घरपरिवार पाल्न आफू र पतिसहित यहीं काममा लागेको १४ वर्ष बितिसक्यो । पेट पाल्नकै सम्पूर्ण जोखिम मोलेर यो पेशा अंगालेको उनको भनाइ छ ।

त्यसो त २ महिनाको काखे बालक च्यापेर फोहोरमा उज्ज्वल भविष्य खोज्ने अर्की महिलाको कथा पनि उस्तै छ । आफू मात्र हैन, सानो शिशुको भविष्य उज्यालो बनाउने दायित्व यही फोहोरसँग जोडिएको पसिनाले लिएको छ । खाजा, सामल बोकेर आउने उनीहरु यही पेरिफेरिलाई भूस्वर्ग ठान्न बाध्य भएका छन् ।

आफूले बटुलेको प्लास्टिक उनीहरु ठाउँका ठाउँ ठेकेदारलाई प्रति केजी १७ रुपियाँका दरले बेच्दा रहेछन् । फोहोरबाट जीविका चलाउनेहरुको संख्या पाँच सयको हाराहारीमा छ । उनीहरुले बटुलेका प्लास्टिकजन्य वस्तु पुन: प्रयोगका लागि व्यापारीहरुले यहींबाट अन्यत्र लैजान्छन् । यस्ता मजदुरमा पुरुष भन्दा महिलाको संख्या बढी छ । फोहोरभित्र मोहोर खोज्न तल्लीन १७ वर्षीया बिमला तामाङ यो पेशा सम्हाल्नु आफ्नो विवशता भएको बताउँछिन् । कति त फोहोरभित्रको जीवनमा रमाएका भेटिए ।

निजी कम्पनीहरुले प्लास्टिकजन्य वस्तुहरु छुट्टाएर कुहिने फोहरहरु मात्रै ल्याउँदा उनीहरु प्रत्यक्ष मारमा पर्ने रहेछन् । उत्पादनस्थलमा फोहोर छुट्याउने महानगरको योजनाप्रति भने उनीहरुको गम्भीर आपत्ति छ ।

अरु विषय तपसिलमा राखेर यी सफाई मजदुरको स्वास्थ्यका विषयमा महानगर संवेदनशील हुन आवश्यक छ । सफाईमा सक्रिय परिवारका सयौं सदस्य मात्र हैन, आगामी पुस्तासमेत यही काममा जोडिने भएकाले उनीहरुको शिक्षा र स्वास्थ्यको विषयमा चासो आवश्यक छ ।