१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लामो समयदेखि गिजोलिएको उपत्यकाको फोहोर विसर्जनमा सहजता

राजनीतिक स्वार्थको घानमा परेको चालकको गुनासो

1.989k
Shares

काठमाडौं । लामो समयदेखि गिजोलिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सहज बनेको छ ।

काठमाडौंबाट गएका दर्जनौं कन्टेनरलेविना कुनै अवरोध फोहोर खसाल्ने काम गरेका छन् । फोहोर व्यवस्थापनमा सहजीकरण र सम्भावित झड्प हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको छ । फोहोर प्रभावित क्षेत्रका बासीन्दाले सरकारले प्रतिवद्धता पूरा नगर्दा आफूहरु आन्दोलित भएको बताएका छन् ।

दुईचार दिन यता युद्ध मैदान जस्तो बन्दै आएको बन्चरे डाँडा शुक्रबार शान्त थियो । फोहोर व्यवस्थापनको काममा कसैको अवरोध थिएन । काठमाडौं महानगरपालिका र निजी कम्पनीहरुहरुको जिम्मामा रहेका थुप्रै फोहोर कन्टेनर बञ्चरे डाँडा पुगेर फोहोर खसाल्न मग्न थिए । डोजरले प्लास्टिकरहित फोहोर सम्याइरहेको थियो । फोहोर व्यवस्थापनमा चुल्हो चलेका सयौं मजदुर काममा सक्रिय थिए ।

फोहोर बोकेर आएको कन्टेनर उनीहरुका लागि भाग्य बोक्ने साधन जस्तो बन्ने गरेको छ । कन्टेनर गन्तव्य पुग्दा नपुग्दै छिचिमिरासरी सफाई मजदुरको भीडले घेरिसक्ने रहेछ । सत्य के देखियो भने काठमाडौंको फोहोर बन्चरे डाँडा नपुग्दा चाहीँ स्थानीयको चुल्होमा आगो नबल्ने रहेछ । उनीहरुका एकाध सामान्य मागमा सरकार इमान्दार भइदिने हो भने फोहोर व्यवस्थापनको समस्या कृत्रिम देखिन्छ ।

बरु स्थानीयको अवरोधका कारण फोहोर फाल्न नसकिएको भन्ने समाचारप्रति स्थानीयको गुनासो छ । आफूलाई राजनीतिक स्वार्थको रोटी सेक्ने माध्यम बनाइएकोप्रति बञ्चरेडाँडा प्रभावित क्षेत्रका बासीन्दा असन्तुष्ट थिए । राजनीतिक स्वार्थको घानमा अझ बढी आफूहरु परेको चालकको गुनासो छ ।

काठमाडौं, ललितपुर र भक्तपुरबाट उत्पादित दैनिक सयदेखि १ सय ५० हाराहारीमा कन्टेनर फोहोर लिएर आउँछन् । निजी कम्पनीहरुले काठमाडौंबाटै फोहोर छानेर लाने भएको हुँदा त्यसको असर स्थानीयलाई पर्ने रहेछ । महानगरपालिका मार्फत आउने फोहोर प्रशोधित नहुने भएकाले त्यो फोहोरबाट छानिएको प्लास्टिकबाट रोजीरोटी चलाउने स्थानीय फोहोर फाल्न नदिने मनसाय कहिल्यै नरहने बताउँछन् । बरु आफ्ना सामान्य माग सरकारले पूरा नगरेकोमा चित्त दुखाई छ ।

बञ्चरे डाँडा स्वास्थ्यको अन्तर्राष्ट्रिय मापदण्डका दृष्टिले पनि असुरक्षित नमानिएको ठाउँ हो । फोहोर उत्पादक, सफाई मजदुर, कृषकका लागि नभई विचौलियाका लागि फोहोर मोहोर बनाइँदा यी सबै समस्या देखिएको हो । त्यसैले फोहोरभित्र राजनीति गर्ने दुष्प्रयासलाई निरुत्साहित गर्नु आवश्यक छ ।