
दाङ । तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार समेत बनाएको छ ।
दाङको तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्न २०७६ सालमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो कलेजको स्थापना गरेको थियो । कलेजमा डिप्लोमा तहका विभिन्न कार्यक्रमसँगै छोटो अवधिका तालिमहरू सञ्चालन हुँदै आएका छन् । पछिल्लो चरणमा सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञान दिन सकियो भने बेरोजगारको संख्यामा कमी आउने देखिन्छ ।
विभिन्न कारणले रोजगार गुमाएका वा रोजगार नपाएकाहरूलाई विभिन्न संघ संस्थाहरूको समन्वयमा कलेजले तालिमहरू दिएपछि अझै धेरैले व्यवसाय सुरु गरेका छन् । जसले गर्दा उनीहरु पेशामा रमाएका छन् भने कलेजमा पढ्न विद्यार्थीहरूले कलेज मै कृषि काम गरेर पनि आम्दानी गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका १२ रझेनामा कल्पना बुढाथोकीले कटाई, सिलाई तालिम लिएकी थिइन् । उनले फेरी मेट्रो कलेजले दिएको हेयर कटिङ तालिमले अझै आफूलाई फाइदा पुगेको बताउँछिन् ।
तुलसीपुर उपमहानगरपालिका-७ बम्नैका शिवराज शर्मा बेरोजगार भएर विदेश जाने तयारीमा रहेका थिए । उनले पनि मेट्रो कलेजबाट मोटरसाइकल बनाउने तालिम लिएपछि अहिले आफ्नै घरमा मोटरसाइकल बनाउने वर्कसप सञ्चालन गरेका छन् । तालिमले गर्दा अहिले स्वदेशमै काम गर्न पाउँदा धेरै खुशी भएको शिवराज शर्मा बताउँछन ।
तालिम लिएकाहरु मात्र नभई कलेजमा विभिन्न विषय पढ्दै आएका विद्यार्थी पनि पढ्दै र पैसा कमाउँदै आएका छन् । डिप्लोमा इन एग्रिकल्चरमा अध्ययनरत विद्यार्थीहरूले कलेजमा टमाटर खेती गरेर आम्दानी गरेका छन्, भने अब तिहारको लागि पुष्प खेती पनि गरेका छन् । उपमहानगरले तुलसीपुरमा प्रविधि कलेज सञ्चालन गरेपनि मनैदेखि पढ्ने रहर भएको विषय आफ्नै ठाउँमा पढ्न पाउँदा विद्यार्थीहरू खुशी भएका छन् ।
तुलसीपुर मेट्रो कलेज तुलसीपुर उपमहानगरपालिका र सिटिइभिटीको साझेदारीमा सञ्चालनमा आएको हो । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नको लागि उपमहानगरले सञ्चालनमा ल्याएको हो । कलेजमा डिप्लोमा तहका ५ वटा विषयमा र छोटो अवधिका तालिम भइरहेको कलेजले जनाएको छ ।
पछिल्लो चरणमा सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञान दिन सकियो भने बेरोजगारको संख्यामा कमी आउने देखिन्छ । यसतर्फ राज्यले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्