
काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको जनाएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् । ती दलहरुले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँचबुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
जाँचबुझ क्रममा दलहरुले बुझाउनुपर्ने कागजात नपुगेमा वा अस्पष्ट भएमा पुनः कागजात माग्ने उहाँले बताउनुभयो । आयोगले आगामी भदौ ८ गते दर्ता भएका दलको अन्तिम विवरण प्रकाशन गर्ने तयारी गरेको छ ।
विवरण प्रकाशनपछि उनीहरुले संघ, प्रदेश, प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुन निवेदन दिनुपर्ने उहाँले बताउनुभयो । आयोगले साउन २२ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।
असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेश गर्ने कार्यसूची तय गरेको छ । यस्तै प्रत्यक्ष निर्वाचनतर्फ भदौ २५ गते निर्वाचन कार्यक्रम सञ्चालन, असोज ११ गते निर्वाचन अधिकृतहरुको नियुक्ति, असोज २१ गते निर्वाचन कार्यालय स्थापना, असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता, असोज २८ गतेदेखि कार्तिक २७ गतेसम्म १ महिना प्रत्यक्ष निर्वाचनका लागि मतपत्र प्रकाशन, कार्तिक २७ गतेदेखि मतपत्र ढुवानी गर्ने र मंसिर १ गतेदेखि चुनाव प्रचार प्रसार बन्द गर्ने कार्यसूची बनाएर काम गरिरहेको छ ।
यसैबीच आयोगले आगामी निर्वाचनमा निजामती कर्मचारी र शिक्षकलाई खटाउने भएको छ । आयोगले आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्