२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मुस्ताङ अस्पताल ४ महिनादेखि नेतृत्वबिहीन


364
Shares

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोमस्थित जिल्ला अस्पताल ४ महिनादेखि नेतृत्वबिहीन भएपछि अस्पतालले प्रवाहगर्ने सेवा र नियमितकार्य व्यवस्थापन प्रभावित भएको छ ।

२०७९ साल वैशाख ११ गते घरपझोङ गाउँपालिका वडा नम्बर २ मार्फाकी कमला लालचनले अध्यक्षबाट राजीनामा दिएपछि अस्पताल नेतृत्वबिहीन बनेको हो । स्थानीयतह सदस्यनिर्वाचन २०७९ माउम्मेदवार बन्ने भएपछि लालचनले समितिको अध्यक्षबाट राजीनामा दिनुभएको थियो । नेपाली कांग्रेसमा आबद्ध समाजसेवी लालचनलाई गण्डकी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।

यसअघि मुस्ताङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङ हुनुहुन्थ्यो । उहाँको ३ वर्षे कार्यकाल पूरा भएसँगै लालचन अध्यक्ष बन्नुभएको थियो ।

लालचनले समितिको अध्यक्षपदमा राजीनामा दिएको ४ महिना बितिसक्दा समेत मुस्ताङ जिल्ला अस्पतालमा नयाँ नेतृत्व आउन नसकेपछि अस्पताल नेतृत्वबिहीन भएको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन विशाल तिवारीले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेशले चाँडै नियुक्त गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभएको छ ।

लामो समयदेखि मुस्ताङ जिल्ला अस्पताल नेतृत्वबिहीन रहँदा अस्पतालले दिने सेवा तथा महत्वपूर्ण निर्णयहरू गर्न अप्ठ्यारो परेको अस्पतालले जनाएको छ । कुनै पनि अस्पतालको अध्यक्षमा बहाल हुने व्यक्ति ३० वर्ष उमेर पूरा भएको र शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण हुनुपर्छ ।

संघीयतापछि मुस्ताङ जिल्ला अस्पताल गण्डकी प्रदेशको स्वामित्वमा छ । गण्डकी प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेश निर्देशिका २०७५ अनुसार प्रदेशको सिफारिस जिल्लामा रहेका अस्पतालको अध्यक्ष चयन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ ।