१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निगुरो बेचेर घर खर्चको जोहो गर्दै ग्रामिण महिला र बालबालिका


2.184k
Shares

सोलुखुम्बु । वर्षायाममा जङ्गलमा पाइने निगुरो बेचेर सोलुखुम्बुका ग्रामीण महिलाले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाहरूले पढाई खर्च जुटाउने गरेका छन् । 

जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको निगुरोको व्यापार वर्षायाममा राम्रै फस्टाउने गरेको छ । यसमा पनि अधिकांश महिला र बालबालिकाहरू रहेका छन् ।

बिहानै खाना खाएर जङ्गल पसेर शुक्रवारको दिन डोकोभरी निगुरो खोजेर ल्याउनु र शनिबारे हाटमा बेच्नु काँकुकी ङिमा शेर्पाको वषौँदेखिको नियमित कार्य जस्तै बनेको छ । उहाँ प्रत्येक शनिबार नबिराईकन हाटमा निगुरोको व्यापार गर्नुहुन्छ र घर खर्चको जोहो गर्नु हुन्छ ।

घरमा छोराछोरीको पालनपोषण, पढाइलेखाइ तथा घरायसी व्यवहार चलाउनुपर्ने भएकाले शेर्पाले वषौँदेखि निगुरो तथा मौसमी जङ्गली तरकारीको व्यापार गरेर घर खर्चको केही हिस्सा धानेको बताउनुहुन्छ । ‘रोप्ने र गोड्ने काम गर्नु नपर्ने भएकाले आम्दानी त राम्रै हुन्छ । तर, यो सिजनमा मात्र हुने भएकाले अन्य सिजनमा अरूनै काम खोज्नु पर्ने हुन्छ’, शेर्पाले भन्नुभयो ।

एक पटकमा २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्मको निगुरो बेच्दै आएकी शेर्पाले प्रति मुठा ३० देखि ५० रुपैयाँँसम्म लिने गरेको बताउनुभयो । थोरै मात्रामा निगुरो आएको बेला अलि राम्रो मूल्य पाउने गरेको उहाँको भनाइ छ । शुक्रबार घरका छोराछोरीलाई समेत जङ्गलमा लगेर निगुरो खोज्न लगाउने शेर्पाले बताउनुभयो ।

पछिल्लो समयमा जिल्लाका अन्य जङ्गलबाट पनि केहीले निगुरो खोजेर बजारमा बिक्री गरी आम्दानी गरिरहेका भएपनि बजारमा काँकुकै निगुरो बढी र नियमित आउने गरेको छ । यता नेले जोगाराकी कविता सुनुवारलेले पनि सिजनमा निगुरोको व्यापार गरेर खर्च चलाउने गरेको बताउनुभयो ।

स्कुलमा बिदा भएका समयमा विद्यार्थीहरू पनि समयको सदुपयोग गर्दै निगुरो टिपी बजारमा बिक्री गरी स्टेसनरी खर्च जुटाउदै आएका छन् । यस वर्ष कोरोनाका कारण विद्यालयमा पठनपाठन नभएपछि बालबालिकालाई निगुरोको व्यापार गर्न सजिलो भएको बताउँछन् ।

सदरमुकामका कर्मचारीहरू तथा स्थानीयले निगुरोलाई बजारमा नयाँ जातको अर्गानिक तरकारी भन्दै किन्ने गरेको पाइन्छ । तरकारीका साथै अचार बनाउन समेत निगुरोको प्रयोग गरिन्छ ।