
काठमाडौं । भारतको विहारस्थित मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत इन्डियन आयल कोर्पोरेशन(आईओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह निर्माण सुरु भएको हो ।
मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेशगञ्ज डिपोले बताएको छ । मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य आईओसीले गर्ने बताइएको छ । सो पूर्वाधार निर्माण गर्न १ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । भण्डारण गृह निर्माण नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उहाँको भनाइ छ । उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कार्यबाट पाइपलाइनबाट डिजेल आयात गर्न सुरु भएको छ । दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न ४ हजार १०० किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण भइरहेको छ ।
साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्यांकर लोड र अनलोड गर्न २४ ओटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको छ । यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ । पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दूरीमा ट्यांकरमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो । हाल पाइपलाइनबाट प्रतिघण्टा २५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ ।
पहिलो चरणको परियोजनामा पाइपलाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आईओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निमार्णको काम २ अर्ब ७५ करोड भारतीय रुपैयामा सम्पन्न भएको थियो । अमलेखगजञ्मा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र २ हजार १०० किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ ।
प्रतिक्रिया दिनुहोस्