२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा गाउँपालिकामा नै करदाता शिक्षा दर्ता गर्न पाउँदा व्यवसायी हर्षित


143
Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामै करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता सम्बन्धि काम भएपछि व्यवसायीहरु हर्षित भएका छन् ।

उद्योग वाणिज्य संघ नेचासल्यानले करदाता सेवा कार्यालय ओखलढुंगासँगको सहकार्यमा दुई दिनसम्म नेचाबिहिबारे बजारमा सञ्चालन गरेको करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता शिविरले स्थानीय व्यवसायी लाभान्वित भएका हुन् । गाउँपालिका उपाध्यक्षबिना राईले शिविरले पालिकाभित्रका व्यवसायीहरुलाई करको बारेमा जानकारी गराउँदै करको दायरामा ल्याउन सहयोग गरेको बताउनुभयो ।

उहाँले गाउँमै शिविरको आयोजना गरी व्यवसायीलाई करमा दर्ताकै लागि अर्को जिल्ला ओखलढुङ्गामा रहेको कर कार्यालयसम्म जानुपर्ने झन्जटबाट मुक्त गराउने उद्योग वाणिज्य संघ नेचासल्यानको पहल सराहनीय भएको बताउनुभयो ।
उद्योग वाणिज्य संघ नेचासल्यानका अध्यक्ष हेमराज भट्टराईले स्थानीय व्यवसायीको सहजताका लागि शिविरको आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँघरमा साना साना व्यवसायी समेत हुने भएकाले उनीहरुलाई समय र खर्चका हिसाबले पनि ओखलढुंगा पुगेर लाइन बसेर दर्ता गर्न असहज हुने भएकाले शिविरको पहल गरेको हो ।’

गाउँपालिकाभित्रका करिब २५० भन्दा बढी साना ठूला व्यवसायीहरुले बायोमेट्रिक कर प्रणालीमा दर्ता गराएको उहाँले जानकारी दिनुभयो । करदाता सेवा कार्यालय ओखलढुंगाका प्रमुख एसपी सिंहले व्यवसायीहरुलाई करको दायरामा ल्याउनु राज्यको दायित्व भएकाले सबै प्रकारका व्यवसयीलाई सहज रुपमा सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । सेवा लिन व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको उहाँको भनाइ छ ।

आफ्नै आँगनमा करदाता सेवा कार्यालयले सेवा दिँदा धेरै सहज भएको बायोमेट्रिक दर्ता गराउनुभएको स्थानीय व्यवसायी खेमराज घिमिरे बताउनुभयो । धेरै साथीहरुलाई ओखलढुङ्गा पुगेर दर्ता गराउन असहज भइहरेका बेला शिविरले ठूलो राहत दिएकाे उहाँले बताउनुभयाे ।