२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पूर्वप्रहरीलाई निर्वाचनको सुरक्षा जिम्मेवारी दिँदा सुरक्षा व्यवस्था परिपक्व हुने विश्वास


1.001k
Shares

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रहरीलाई अवकास रहेकै पदमा आगामी निर्वाचनको सुरक्षा जिम्मेवारी दिन सरकारको ध्यानाकृष्ट गरेको प्रति नेपाल प्रहरी सकारात्मक देखिएको छ । यसले चुनावी खर्च कटौती हुने मात्र होइन, सुरक्षा व्यवस्था परिपक्व बनाउन मद्दत गर्ने प्रहरी संगठनको बुझाई छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एक कार्यक्रममा आगामी चुनाव सफलतापूर्वक सम्पन्न गर्न पूर्व प्रहरीलाई सहभागी गराउने चाहाना व्यक्त गरेपछि त्यसप्रति क्रियाप्रतिक्रिया व्यक्त भएका छन् । संघ र प्रदेशको दुईवटा चुनाव एकैपटक सम्पन्न गराउन थप १ लाख २० हजार बल आवश्यक पर्ने प्रहरीको भनाई छ । स्थानीय निकायमा म्यादीमा काम गरेका अधिकांश जनशक्ति उपयोग गर्नुपर्ने मत आइरहेका बेला निर्वाचन आयोगले नयाँ अवधारणा ल्याएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाईप्रति प्रहरी संगठन सकारात्मक देखिएको छ । तालिम प्राप्त, दक्ष जनशक्ति उपयोग गर्न सके शान्तिसुरक्षा थप मजबुत हुने नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई बताउनुहुन्छ ।

निर्वाचन आयोग म्यादी प्रहरीभन्दा पूर्वप्रहरीको सुरक्षाप्रति विश्वस्त देखिन्छ । स्थानीय निकायको निर्वाचनमा उल्लेख्य खर्च कटौती गरेको दावी गर्दै आएको आयोगले तालिमप्राप्त पूर्वप्रहरी कर्मचारीलाई चुनावमा सहभागी गराउन सके राष्ट्रिय चुनावमा पनि राज्यकोष मितव्ययी बनाउन मद्दत पुग्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउनुहुन्छ ।

सेनासँग हतियार मागेर चुनावी सुरक्षा दिनुपर्ने अवस्थामा पुगेको नेपाल प्रहरीलाई साधन, स्रोत सम्पन्न बनाउनुपर्ने दायित्व सरकारको हो । त्यसमाथि सुरक्षाका लागि खटिने थप जनशक्ति पूर्वप्रहरी कर्मचारीबाट पूर्ति गर्ने आयोगको जुक्ति मननयोग्य छ । यसबाट स्वत तालिमप्राप्त जनशक्ति प्राप्त हुने भएकाले यसप्रति सरकार सकारात्मक हुन जरुरी छ । त्यसो त सम्पूर्ण प्रहरी संगठनले यो प्रस्ताव स्वागत गरेको परिस्थिति छ ।