
रसुवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले चालक अनुमतिपत्रसहित आवश्यक कागजात साथमा नराखी सवारी साधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ ।
कार्यालयका प्रमुख उज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सावारी साधानका गरी दुई सय ५० चालक कारबाहीमा परेका हुन् ।
कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय २५ छन् । कारबाही गरिएकाबाट दुई लाख ४१ हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको उहाँले बताउनुभयो ।
नेपाल–चीनबीचको व्यापार–व्यवसाय गर्ने रसुवागढी नाका भएका कारण यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको छ । सवारीसाधनमा आवश्यक कागजपत्र नबोक्न पटक–पटक सचेत गराउँदासमेत चालकले आलटाल गरेका कारण कारबाहीस्वरूप जरिवाना गर्नुपरेको कार्यालयले जनाएको छ ।
विगतको तुलनामा ट्राफिक नियम पालनामा केही सुधार आएपनि पछिल्लो समय नयाँ–नयाँ थपिने चालकबाट बढी मात्रामा हेलचक्र्याइ हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्