
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ छुल्यामुमा सामूदायिक अस्पताल सञ्चालनमा आएको छ ।
साढे ३ करोड रुपैयाँको लागतमा १५ शैयाको सोलु सामदायिक अस्पताल बनेको हो । जिल्लाकै सुविधा सम्पन्न अस्पताल बनाएर नागरिकलाई सेवा दिने उद्देश्यले निर्माण गरिएको अस्पतालमा सिटी स्क्यान, सर्जरी, एक्सरे र अल्ट्रासाउण्ड लगायतका सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष तथा प्रमुख डा.राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
डा. बस्नेतले पाँच वर्षे कार्ययोजना सार्वजनिक गर्दै १ वर्षभित्रमा पिएफटी फोक्सो रोगको विशेष उपचार विधि, डिजिटल एक्स–रे एक महिनाभित्रमा, अपरेसन थिएटर ३ महिना भित्रमा, ल्याब अपग्रेड गरीबी ग्रेडको ल्याब बनाइने र ३० बेडको अस्पताल बनाइने बताउनुभयो ।
आफ्नै जिल्लामा दुःखी गरीबको सेवा गर्न नाफारहित अस्पताल सञ्चालन गर्ने विगत सात वर्षदेखिको सपना पूरा भएको उहाँले बताउनुभयाे । उहाँले छिट्टै शल्यक्रियासहितका सेवा अस्पतालबाट प्रदान गरिने बताउनुभयो । एक वर्षभित्र ३० शैयाको अस्पताल बनाउने र पाँच वर्षभित्रमा विभिन्न सुविधा थप गर्दै १ सय शैयाको अस्पताल बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ।
पाँच वर्षमा अस्पतालका सबै संरचना निर्माणको काम सक्ने गरी १५ करोड रुपैयाँ बजेट छुट्याइएको अस्पतालका कार्यकारी प्रमुख क्षितिज नकर्मीले बताउनुभयो । अस्पताल नजिकै नाजिङ स्थानमा मेडिकल कलेज सञ्चालनका लागि १२ रोपनी जग्गा समेत लिइएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, तीन वर्षभित्रमा मुटुको उपचार, शल्यचिकित्सा, प्रसुती तथा नवजात शिशुको उपचार तथा स्त्री रोग विभाग, डेन्टल विभाग, इन्डोस्कोपी, क्लोनोस्कोपी, आईसियु र ५० शैयाको अस्पताल बनाउने लक्ष्य अस्पतालको छ । पाँच वर्षभित्रमा सिटी स्क्यान, आइसियु, सिसियु र डिआईसियु, पारामेडिकल कलेज र एक सय शैयाको अस्पतालमा स्तरोउन्नति गर्ने लक्ष्य रहेको छ ।
अस्पतालको उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको दावी गर्नुभयाे । उहाँले सोलु सामूदायिक अस्पताललाई दिगो सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सोलुदूधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले पनि जिल्लामा विगतको तुलनामा स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्