१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पुलमुनिको संरचनामा मानवीय जीवन कति उपयुक्त छ ?

एक पन्थ दो काज जस्तो पुलमुनिको संरचना

650
Shares

काठमाडौं । मुलुकको प्रशासनिक मुख्यालय अगाडि भद्रकाली– सिंहदरबार पुलमाथि दैनिक हजारौं सवारी साधन वारपार गर्छन ।

यही पुलमुनि व्यवसाय गर्ने मात्र होइन, एकसाथ गाँस, बास, कपास चलाउनेहरु पनि छन् । पुलमाथिबाट चुहुने पानी र पुलमुनिबाट पस्ने बाढीले उनीहरुको जीवन चौपट बन्ने गरेको छ ।

सिंहदरवारको पश्चिमी गेट अगाडिको यो टुकुचा पुलमुनि छुट्टै संसार छ । खाद्य संस्थानको स्वामित्वमा रहेको पुलमाथि अनगिन्ती गाडी गुड्छन भने तल विभिन्न प्रयोजनका लागि बनाइएका ४२ वटा कोठा छन् । प्रायजसो यी कोठा विभिन्न सामाग्रीका गोदामले भरिएका छन् ।

देशका अधिकांश पुल असुरक्षित रहेको अवस्थामा यो पुलको बनोट आफैंमा अनौठो लाग्छ । एक पन्थ दो काज जस्तो पुलमुनिको संरचनामा गोदाम, खाजा पसल, जिम खाना, प्रेस, मोटरसाईकल वर्कसपलगायत छन् ।

पुलमुनिको एउटा भागमा त घरबास नै यहीँ बसाइएको रहेछ । सामान्य चार कोठा बराबर फैलिएको क्षेत्रमा एउटा परिवार बसेको बर्षौ भयो । यो परिवारमाा श्रीमती, छोरा, बुहारी र नातिनी सहित ६ सदस्य छन् ।

यहाँ बसोबास गर्ने व्यक्ति खाद्य संस्थानका अवकाशप्राप्त कर्मचारी हुन् । यो परिवारको गुजाराको अर्को पाटो भने खाजा पसल हो । पसलबाट दैनिक ४ देखि ७ हजार सम्मको व्यापार हुन्छ । त्यही कमाईबाट महिनाको बीस हजार भाडा तिनुपर्छ ।

शौचालय र पानीको दुख छ । पुलमुनिको बास एकातिर भय त हुने नै भयो, एउटा मात्र ढोकाभित्र बस्नुपर्दा सुरुङभित्रको बासजस्तो अवस्था रहँदै आएको छ । अझ बर्खामा त पुरै भेलबाढी पस्दा उनीहरुको अवस्था दर्दनाक हुने गर्छ । अझ पुलमाथिबाट पानी रसाउँदा उपभोग्य सामानको सुरक्षामा चुनौती थपिन्छ ।

पुलमुनिको संरचनामा मानवीय जीवन कति उपयुक्त हो ? त्यसमाथि पानी, शौचालयजस्ता पूर्वाधारविना सरकारी स्वामित्वको निकायले नै महिनैपिच्छे पैसा असुल्न मिल्छ मिल्दैन ? यसबारे सरोकारवाला निकाय सचेत हुन जरुरी छ ।