
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँणले यस्तो बताउनुभएको हो । उहाँले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री खाँणले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गर्नुभयो । उहाँले मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताउनुभयो । त्यस्तै, मन्त्री खाँणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताउनु भयो । उहाँले मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गते भन्दा पछाडि अनुमन गरे भन्दा धेरै रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगिका उजुरी परेको बताउनुभयो । मन्त्री खाँणले प्रदेश १ मा ९२ वटा, मदेस प्रदेशमा १,३३०, वागमतीमा २०२, गण्डकीमा ३५, लुम्बीनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको बताउनुभयो ।
गृहमन्त्री खाँणले अहिलेसम्म परका तथा अब पर्ने उजुरी उपर मन्त्रालय तत्काल छानबिन र अनुसन्धान गरेर कानूनी कारबाही अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्