
झापा । अनलाइनबाट जुवा खेलाएर ठगी गरेको आरोपमा झापा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र दमक–८ का ३३ वर्षीय राजु लिम्बू रहेका छन् ।
उनीहरुले नेपालमा प्रतिबन्धित वान एक्स बेट एप्लिकेसनमा पैसाको हारजित हुनेगरी खेल खेल्ने र उक्त खेल खेलाउन अनाधिकृत रूपमा अन्य व्यक्तिहरूको नागरिकताबाट सिम झिकेर सट्टाबाजीको लागि आवश्यक रकम पाउन इसेवा खाता खोली लाखौंको कारोबार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
कन्सल्टेन्सीमा आउने विद्यार्थीहरूको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरूको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइईको प्राप्तांकसमेत परिवर्तन गर्ने गरिएको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दीलिप गिरीले बताउनुभयो ।
पक्राउ परेका साहले वान एक्स एप्लिकेसनमार्फत सट्टेबाजी गर्ने र त्यसका लागस अनधिकृत रूपमा अन्य व्यक्तिहरूको नागरिकताबाट एनसेल सिम झिक्ने र सो सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम पाउन इसेवा खाता खोलेर लाखौंको कारोबार गर्ने खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको इसेवा खातामा ८० लाख रुपैयाँभन्दा बढीको ट्रान्जेक्सन देखिएको छ । सो समूहले प्रयोग गरेका दुई सय ४४ थान एनसेलका सिम, विभिन्न कम्पनीका नौ थान मोबाइल र दुई थान ल्यापटप समेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर र परिच्छेद २५ को लिखत सम्बन्धित कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्