१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय


91
Shares

बैतडी । बैतडीका दुई स्थानमा भेटिएकाे शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

दशरथचन्द राजमार्गको सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा आज मंगलबार बिहान शंकास्पद वस्तु भेटिएका हुन् ।

बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोलीले ती शंकास्पद वस्तुहरु निष्क्रिय पारेको उक्त्त गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताउनुभयो । गुल्मका सहसेनानी क्याप्टेन नवराज फूँयालको नेतृत्वमा बम डिस्पोजल टोलीले ती दुवै शंकास्पद वस्तु निष्क्रिय पारेको हो ।

सेनानी थापाले भन्नुभयाे, ‘सेनाको टोलीले सुरक्षित रुपमा शंकास्पद निष्क्रिय पारेको छ, निष्क्रिय पार्दा शंकास्पद वस्तु बम नरहेको पाइएको छ ।’ उक्त्त शंकास्पद वस्तु कसले र किन राखेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन् । विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले मंगलबार नेपाल बन्द आह्वान गरेकाले उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।

बन्दका काराण बैतडीमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।