
सोलुखुम्बु । स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सय भन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
गत वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा भाग लिएका ८ सय ७ जना उम्मेदवार मध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रिदा समेत निर्वाचन खर्च विवरण नबुझाउने ४ सय ३१ जना उम्मेदवारविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।
एक नगरपालिकासहित ८ स्थानीय तह रहेको सोलुखुम्बुमा पटक-पटक ताकेता गर्दासमेत खर्च विवरण बुझाउन अटेरी गरेकाले स्पष्टिकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उनीहरूलाई भदौ ७ गतेसम्म लिखित स्पष्टिकरण बुझाउन भनिएको छ । अहिलेसम्म विवरण नबुझाउनेमा सोलुदूधकुण्ड नगरपालिकाका १ सय १५ जना, थुलुङदूधकोशी गाउँपालिकाका ५१ जना, महाकुलुङ गाउँपालिकाका ५३ जना, लिखुपिके गाउँपालिकाका ५६ जना र माप्य दूधकोशी गाउँपालिकाका ४३ जना रहेका छन् ।
सोताङ गाउँपालिकाका ३५ जना, नेचासल्यान गाउँपालिकाका ४५ जना र खुम्बु पासाङल्हमु गाउँपालिकाका ३३ जना उम्मेदवारले आयोगले तोकिएको समय निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानूनी प्रावधान रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्