१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेशको नामाकरण गर्न नसक्नेले अरुलाई दोष दिन मिल्दैन : मुख्यमन्त्री राई


195
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयता भित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाशीकरण भएको आरोप लगाउनुभएको छ ।

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय मन्त्रालयका मन्त्रीहरुले एउटा प्रदेशको भन्दा ५/६ गुणा बढी बजेट राखेको भएपनि जिल्ला जिल्लामा संघीय सरकारले भन्दा प्रदेश सरकारले बढी योजना बनाएको दाबी गर्नुभयो ।

उहाँले संघको नेतृत्वले आफैँ अधिकार र बजेट प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाइ आलोचना गरिरहेको आरोप लगाउनुभयो । उहाँले पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना संघीय सरकारको भन्दा बढी रहेको भन्दै प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभयो ।

मुख्यमन्त्री राईले संघ सरकारले अधिकार र बजेट पर्याप्त नदिँदा पनि प्रदेशले आफूले राम्रो काम गरेको उल्लेख गर्दै अनावश्यक समीक्षा र आलोचना नगर्न चेतावनी दिनुभयो । मुख्यमन्त्री राईले संघले पैसा र अधिकार दिए विकासका काम कसरी हुन्छन् भनेर देखाउने योग्यता प्रदेशसँग रहेको दाबी गर्नुभयो । उहाँले हरेक रुपमा प्रदेश सरकारको आर्थिक अवस्था निम्छरो रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारको बजेटले ५ वर्षमा १४ वटा पिच सडक बनाउन नसक्ने गुनासो गर्नुभयो । उहाँले संघीयता नै चाहिएको हो भने राष्ट्रिय गौरवका आयोजना बाहेकका योजनाहरुको रकम प्रदेशलाई दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामाकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै अहिलेको मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको बताउनुभयो । उहाँले यस अघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको दाबी गर्नुभयो । मुख्यमन्त्री राईले संविधानमा नाम टुंग्याउने विषयमा केन्द्रको निर्देशनको परिकल्पना र ह्वीपको परिकल्पना नरहेको जिकिर गर्नुभयो ।

उहाँले संघीयता सैद्धान्तिक रुपमा हुनुपर्ने जस्तो नरहेको उल्लेख गर्दै जे कारणले संघीयता ल्याउन खोजेको हो त्यस्तौ संघीयताको डिजाइन हुन नसकेको बताउनुभयो । उहाँले अहिल्यै संघीयतको मूल्यांकन गरेर संघीयता असफल भयो भन्ने नमिल्ने बताउनुभयो ।