१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सञ्चार मन्त्रालयद्वारा ७ अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन


299
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा ७ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्वद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादन भएका प्रमुख उपलब्धीहरुको सार्वजनिक गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा कुल राजश्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ संकलन भएको बताउनुभयो । उहाँले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको पनि उल्लेख गर्नुभयो । मन्त्री कार्कीले आ.व. २०७८/०७९ मा कुल बजेटको ८०. ६१ प्रतिशत खर्च भएको पनि जानकारी दिनुभयो ।

मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट प्रदान गरिने कार्यहरु पूर्ण रुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताउनुभयो । उहाँले नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आवद्ध गरिएको जानकारी दिनुभयो । चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायांकन स्थल र विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । त्यस्तै, वरिष्ठ चलचित्र कलाकारहरुको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बीमा कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो ।

उहाँले सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य प्रारम्भ हुने बताउनुभयो । मन्त्री कार्कीले ७३५ स्थानीय तहमा फोरजी सेवा बिस्तार भएको र हालसम्म १२ हजार २२४ कि.मि. अप्टिकल फाइबर बिस्तार गरिएको पनि बताउनुभयो । उहाँले कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको बताउनुभयो ।