
सिन्धुली । दुई प्रतिनिधि सभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा आसन्न निर्वाचन नजिकिदै जाँदा चुनावी चर्चा सुरु हुन थालेको छ ।
कुन पार्टीबाट को उम्मेदवार बन्ला ? कसको स्थिति के छ ? कसले निर्वाचनमा बाजी मार्ला ? उम्मेदवारका आकांक्षी को को छन् ? भन्ने कुराले गाउँ र शहर तात्न थालेको छ ।
क्षेत्र नम्बर –१ मा कुन पार्टीबाट को को छन् त आकांक्षी ?
क्षेत्र नम्बर –१ मा सत्तारूढ गठबन्धनमा रहेका दलहरु मध्ये कुन दलले टिकट पाउँछ भन्ने एकिन भइरहेको छैन । यहाँ खासगरी भागवण्डा गर्दा सत्ता साझेदार रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रमध्ये एउटा पार्टीको भागमा पर्नेछ । नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारीको आकांक्षा राखेपनि उसले पाउने संभावना कम छ । किनकि जिल्लामा उसको संगठन त्यति बलियो छैन । तर निर्वाचनमा प्रभाव भने पार्न सक्नेछ । कांग्रेस र माओवादीबीच सीट बाँडफाँट भएमा यो क्षेत्र कांग्रेसले पाउने बलियो संभावना छ । यहाँ कांग्रेसको संगठन पनि बलियो छ । यहाँ नेकपा एमाले पनि त्यति कमजोर छैन। तर गठबन्धन हुँदा एमाले पछि पर्ने संभावना छ । यहाँ मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेका उम्मेदवारबीच नै हुनेछ ।
गठबन्धन हुँदा यहाँ नेपाली कांग्रेसका तर्फबाट श्याम कुमार घिमिरे,मोहन बराल, उज्वल बराल र प्रेमचन्द्र दाहाल टिकटका आकांक्षी देखिएका छन् । घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन् । त्यसैगरी बरालद्वय मध्ये मोहन संविधान सभाका पूर्व सांसद हुन् । उनी सिन्धुली कांग्रेसका पूर्व जिल्ला सभापति पनि हुन् । त्यसैगरी उज्ज्वल पनि कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेद्वार छनौटका लागि आन्तरिक गृहकार्य भइरहेको छ ।
त्यसैगरी नेकपा एमालेबाट गणेश पहाडी, प्रदीप कटुवाल, कुमार बहादुर कार्की लगायत टिकटका आकांक्षी छन् । पहाडी अहिले प्रतिनिधि सभाका सांसद छन् भने कटुवाल वागमती प्रदेशका प्रदेश सभा सदस्य हुन् । त्यसैगरी कार्की एमाले जिल्ला अध्यक्ष हुन् ।
क्षेत्र नम्बर –२ यी हुन् आकांक्षी ?
सिन्धुली जिल्लाको क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनका दुई प्रमुख साझेदार दल मध्ये नेपाली कांग्रेस भन्दा माओवादी केन्द्र बलियो देखिएको छ । त्यसकारण गठबन्धन हुँदा यो क्षेत्र माओवादीको भागमा पर्ने देखिन्छ । यहाँ माओवादीका तर्फबाट हरिबोल गजुरेल र लेखनाथ दाहाल (राजन) मध्ये एक जनाले टिकट हात पार्नेछन् । गजुरेल माओवादीका केन्द्रीय उपमहासचिव एवं प्रतिनिधि सभाका वर्तमान सांसद हुन् । त्यसैगरी हाल दाहाल बागमती प्रदेश सभा सदस्य रहेका छन् । दाहाल फेरि प्रदेश सभामा बसे गजुरेलले टिकट पाउनेछन् ।
यदि चितवनमा समस्या भएमा यो क्षेत्रमा नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाललाई पनि ल्याउन सक्ने माओवादी केन्द्रकै नेताहरुले बताउँदै आएका छन् ।
यता नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार सदस्य केशव देवकोटा,खड्ग खत्री,कौशल कोइराला र मनोजजंग थापा मध्ये एक जनालाई उम्मेदवार बनाउने संभावना रहेको छ ।
यसैगरी प्रदेश सभातर्फ क्षेत्र नम्बर – १ को (क) मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका लेखनाथ दाहाल(राजन) र मातृका भट्टराईको उम्मेदवारीको चर्चा छ भने एमालेले डम्बर कार्की,घनश्याम राउत र सुवास देबकोटा मध्धे एकलाई अघि सार्ने बताईएको छ ।
सोही क्षेत्रको प्रदेशसभा सदस्य (ख) मा गठबन्धनबाट कांग्रेसका दीपक कोइराला,धु्रव पहाडी र काशी दाहालको चर्चा छ भने एमालेले कुमार बहादुर कार्की,छत्र दाहाल,टीकाबहादुर देवकोटा,घनश्याम कार्की मध्धे एकलाई अघि बढाउने देखिएको छ ।
यस्तै क्षेत्र नम्बर– २ (क) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले असिमजंग थापा,कुमार ढकाल,छत्र बम्जन लगायतका केही नेताहरुबाट उम्मेदवार बनाउने चर्चा छ भने नेकपा एमालेले रमेश कार्की,विनोदकुमार खडका,रामकृष्ण श्रेष्ठ मध्ये एकलाई अघि सार्ने देखिएको छ ।
सोही क्षेत्रको प्रदेश सभा सदस्य (ख) मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रकाश श्रेष्ठ,बुद्धिमान माझी र पानीराज बम्जनको चर्चा छ भने,नेकपा एमालेले कमलजंग राई,गोविन्दलाल माझी,शम्भु कार्की मध्येबाट एकलाई अघि सार्ने देखिएको छ ।
गत स्थानीय तहको निर्वाचनमा राजनैतिक दलहरुले प्राप्त गरेको मत परिणामलाई ख्याल गर्दा सिन्धुली जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरुका बीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
दुई नगरपालिका र ७ गाउँपालिका भएको सिन्धुली जिल्लामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक नगर र दुई गाउँपालिकामा विजय प्राप्त गरेको थियो भने,एमालेले २ गाउँपालिका र माओवादीले चार गाउँंपालिकामा जित हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्