२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीका किसान च्याउ खेतीप्रति आकर्षित हुँदै

च्याउखेतीबाट वार्षिक ३१ करोड आम्दानी

208
Shares

सिन्धुली । सिन्धुलीका किसानहरु व्यवसायीक रुपमा च्याउ खेतीप्रति आकर्षित भएपछि घरमै पारिवारिक रोजगारीको सिर्जना भएकाे छ ।

जसका कारण आम्दानी समेत बढेर गएको हाे । सिन्धुलीमा उत्पादन भएका च्याउ जिल्लाभित्रकै ग्राहककाबीचमा खपत भएपछि च्याउ खेती गर्ने किसानहरुलाई बिक्री वितरण गर्न सहज भएकाे छ । शाकाहारी भोजन ग्रहण गर्नेहरुले समेत रुचाउने च्याउ जिल्लाका राजमार्ग आसपासका होटल रेष्टुराहरुमा समेत खपत हुने गर्दा बजारमा च्याउको माग अत्याधिक रुपमा बढेर गएको छ ।

विगतमा पिछडिएका ग्रामीण बस्तीहरुका बेरोजगार र विपन्नहरुलाई रोजगारी सिर्जना गराई आत्मनिर्भर गराउने उदेश्यले सिन्धुली जिल्लाका स्थानीय तहका कृषि शाखाहरुले च्याउ खेती तालिम प्रदान गरेपछि च्याउ खेती गर्ने किसानहरुको संख्या समेत बढेको छ ।

आफ्नै घरमै बसेर सजिलै र थोरै खर्च गरेर धेरै आम्दानी गर्न सकिने च्याउ खेतीबाट घर खर्च,बाल बालिकाहरुको पढाईलेखाई तथा धेरथोर रकम बैंक सहकारी संस्थामासमेत जम्मा गर्न पाएपछि जिल्लाका च्याउ खेती गर्ने किसानहरु खुशी भएका छन् ।

च्याउ खेती कम पूँजीमा संचालन गर्न सकिने, सफा काम, घरभित्रै बसेर काम गर्न सकिने र तरकारीको रुपमा आफैंंलाई समेत प्रयोगमा ल्याउन सकिने भएकाले च्याउ खेती गर्न किसानहरुले अत्यन्त सजिलो मान्दै आएका छन् ।

च्याउ खेती गर्नका लागि सामान्य घरमा बास वा परालको कच्चा पदार्थमा च्याउ खेती गर्नका लागि ठाउँ निर्माण गर्न सकिने तथा बीउसमेत सजिलै रुपमा पाउन सकिने भएकाले किसानहरुकाे च्याउ खेतीप्रति बढ्दो आकर्षण रहेको छ ।

सिन्धुलीमा तयारी काचो च्याउ २ सयदेखि २ सय ५० रुपैयाँ किलोसम्ममा बिक्री वितरण हुने गरेको छ । च्याउको बिक्री वितरणबाट सिन्धुली जिल्लामा वार्षिक ३१ करोड आम्दानी हुने गरेको एक तथ्यांकले देखाएको छ ।