२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


विराटनगर र सिमरामा पनि खुल्यो सामाजिक सुरक्षा कोषको शाखा कार्यालय


65
Shares

काठमाडौं । सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुबै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको उद्घाटन गर्नुभएको हो ।

संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको मन्त्री कुँवरले बताउनुभयो । उहाँले सो कोषमा आवद्ध हुन पनि सबै रोजगारदाता र योगदानकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाहरुलाई सरकारले कानुनी दायरामा ल्याएरै छाड्ने मन्त्री कुँवरले बताउनुभयो ।

मन्त्री कुँवरले योगदानकर्ता र रोजगारदाताहरुको सेवालाई सहज बनाउनका लागि सरकारले आवश्यक अनुसार देशका अन्य जिल्लाहरुमा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गर्ने योजना तय गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकहरुको नजिक रहेर सेवा प्रदान गर्नका लागि कोषको २ वटा शाखा कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले नेपालगंज र बुटवलमा पनि कोषको सम्पर्क कार्यालय स्थापना गरी सेवा शुभारम्भ गर्ने निर्णय गरिएको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषको कामलाई प्रभावकारी बनाउने गरी शाखा कार्यालय खोल्ने व्यवस्था गरिदिएकोमा मन्त्री कुँवर र सचिव अर्यालप्रति आभार व्यक्त गर्नुभएको थियो ।