२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात हुँदैन : निर्देशक घिसिङ


2.379k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताउनुभयो ।

निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताउनुभयो । उहाँले नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताउनुभयो ।

निर्देशक घिसिङले जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताउनुभयो । उहाँले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गर्नुभयो । बंलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताउनुभयो । घिसिङले ५० अर्बको तनहँु जलविद्युतमा करिव ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताउनुभयो । उहाँले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताउनुभयो ।

निर्देशक घिसिङले सरकारले नै आयोजनाहरु महँगो बनाउँदै जाने हो भने जलविद्युत जनतालाई समेत महँगो पर्ने बताउनुभयो । उहाँले नेपालको विद्युत महँगो भएमा विदेशमा निर्यात हुन पनि गाह्रो रहेको बताउनुभयो । घिसिङले प्राकृतिक स्रोत प्रयोग गरे मात्रै जलविद्युत सस्तोपर्ने भन्दै स्रोतहरुको प्रयोग गर्ने नीति आवश्यक रहेको बताउनु भयो । उहाँले कालिगण्डकीको कुनैपनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डी करिडोरमा कुनैपनि परियोजना सस्तोमा बन्न नसक्ने बताउनुभयो । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने दाबी गर्नुभयो ।