२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पर्याप्त वर्षा नहुँदा पाल्पाको धानबालीमा रोगको प्रकोप

'उत्पादन घट्ने चिन्तामा कृषक'

78
Shares

पाल्पा । पाल्पाको धानबालीमा रोगको प्रकोप देखा परेको छ ।

जिल्लाको अन्नभण्डारको रूपमा रहेको माडिफाँट, रामपुर फाँट, तिनाउ कचल फाँट लगायतका स्थानको धान खेतीमा ब्लाष्ट र थोप्ले खैरो रोग देखिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । माडि फाँटमा सावा मन्सुली जातको धानमा बोट सुक्दै जाने समस्या देखिएको छ ।

धानबालीमा गबारोको समस्या देखा परेपछि खेतमा धानको विरूवा सुक्दै गएको कृषकहरू बताउँछन् । गत वर्ष सावा मन्सुली बिउ प्रयोगबाट राम्रो उत्पादन भएको कृषकहरूले बताए पनि यसवर्ष रोगका कारण उत्पादन घट्न सक्ने कृषकको भनाइ छ ।

पाल्पाको कुल खेतीयोग्य क्षेत्रफल ५७ हजार १ सय ७२ हेक्टरमध्ये ८ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यस वर्ष कम वर्षा भएका कारण जिल्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लामा आकाशे पानीको भरमा रोपाइँ सकेका पाल्पाका किसान धान गोड्ने समयमा बालीमा रोग देखा परेपछि समस्यामा परेका छन् ।

कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मिलन गैरेले यस वर्ष कम वर्षा भएका कारण धानबालीमा रोगको प्रकोप देखा परेको बताउनुभयो । समस्या समाधानका लागि प्राविधिक टोली फिल्डमा खटिएको उहाँको भनाइ छ ।

यस वर्ष पर्याप्त वर्षा नहुनु, गुणस्तरीय बिउको छनौटमा ध्यान नदिनु, प्राङ्गारिक मलको प्रयोगमा आएको कमीका कारण धान खेतीमा रोगको प्रकोप देखा परेको कृषि विज्ञहरूको भनाइ छ । कृषि प्रधान देशमा पर्याप्त सिचाइँ सुविधा र प्राविधिक ज्ञानको कमीका कारण वर्षेनी देखिने यस्ता समस्याहरू समाधान गर्न सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन आवश्यक छ ।