
काठमाडौं । नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि भिसा आवेदनमा नक्कली कागजपत्र पेस गरेको आरोप लागेपछि सामाजिक सञ्जाल मार्फत निर्देशक दीपकप्रसाद आचार्यले स्पष्टीकरण दिएका छन् ।
अभिनेत्री केकी अधिकारी अभिनेता आर्यन सिग्देलसहित १४ जनाले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस गरेको आरोप लागेपछि केकी , आर्यन , दीपकले धमाधम स्पष्टीकरण दिइरहेका छन् ।
‘काकु’ उपनामले चिनिने हाँस्य टेलिसिरियल ‘सक्किगोनी’का कलाकार तथा श्रृंखला निर्देशक दीपकले ‘तिम्रो नजर’ शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लुबर्ड एचडी’सँग आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । केही सञ्चार माध्यमले नक्कली कागजपत्र पेस गरेको भन्ने समाचार प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् ।
यस्ता, किसिमका अवान्छित गतिविधिबारे कुनै जानकारी नभएको र आफ्नो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी क्रियाकलाप गरे कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।
फिल्म छायांकनका लागि १४ जना कलाकारसहितको भिसा आवेदन परेपछि नर्वेजियन दूतावासले पर्यटन बोर्डसँग सम्पर्क गरेको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि नर्वेसँग अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । उक्त कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको थियो ।
दीपकले सामाजिक सञ्जालमा लेखेका छन्,-
विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डि’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा निर्देशक रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचार प्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु। मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसंग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेको छैन र यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन। साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु।
प्रतिक्रिया दिनुहोस्