१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केन्यामाथि नेपाल ५ विकेटले विजयी


533
Shares

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालले सहज जित निकालेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार नेपालले केन्यालाई ५ विकेटले हराएको हो । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । आरिफ शेख २४ रनमा अविजित रहदा आदील अन्सारी २ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । रोहित पौडेल १३ रनमा आउट भए । केन्याका लुकास ओलुओच र भिराज पटेलले २/२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे । नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । जितसँगै पाँच खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ ।

यस्तै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाललाई आफ्नो पहिलो खेलमै जित दिलाएका छन् । अब नेपालले भोलि दोस्रो टी–ट्वान्टी खेल खेल्ने छ ।