१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एमालेको पक्षमा जनमत सिर्जना गर्न अध्यक्ष ओलीको निर्देशन


195
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।
उहाँले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताउनु भयो । अध्यक्ष ओलीले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न पनि निर्देशन दिनुभयो ।

ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भूमिका खेल्न पनि आग्रह गर्नुभयो । निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने पनि उहाँको भनाई छ । ओलीले भन्नुभयो – ‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ । यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भूमिका खेल्नुपर्दछ ।’

जनमतलाई कसैले गलत ढंगले दुष्प्रभावित गर्न सक्ने भन्दै त्यसका निम्ति ध्यान दिन पनि ओलीले कार्यकर्तासँग आग्रह गर्नुभयो ।
केन्द्रिय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुले शपथग्रहण गरेका छन् ।