
काठमाडौं । पाकिस्तानमा मनसुनी वर्षा जारी रहँदा करिब एक हजार जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण करिब तीन करोड भन्दा बढी व्यक्ति आश्रयविहीन भएको त्यहाँको सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
लगातारको बाढीका कारण जनधनको क्षति हुने क्रम जारी रहेकाले पाकिस्तान सरकारले आपतकालको घोषणा गरेको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जुन मध्यदेखि ३४३ बालबालिकासहित कम्तिमा ९३७ जनाको मृत्यु भएको छ ।
बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको ठूलो क्षेत्रजलमग्न भएको छ । सो क्षेत्रमा सन् २०१० मा पनि अत्यधिक वर्षाका काण ठूलो जनधनको क्षति भएको थियो । उक्त समयमा बलुचिस्तान र दक्षिणी सिन्ध प्रान्तमा ५४० जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री शहबाज सरिफले दशकौंको सबैभन्दा खराब बाढीका कारण ठूलो जनधनको क्षति भएकाले मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहयोगको अपिल गर्नुभएको छ । मुलुकमा आपतकालको घोषणा गरिएकाले आफ्नो बेलायत भ्रमण पनि स्थगित भएको सरिफले बताउनुभयो ।
वर्षा निरन्तर जारी रहेकाले जनधनको क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । बाढीका कारण चार प्रान्तका एक सय भन्दा बढी जिल्लाहरु प्रभावित भएको बताइएको छ । ती मध्ये बलुचिस्तानको राजधानी क्वेटा जोड्ने अधिकांश राजमार्ग र पुलहरु क्षतिग्रस्त भएको बताइएको छ ।
बाढीले सबैभन्दा बढी प्रभावित बलुचिस्तान र सिन्ध प्रान्तमा यस वर्ष मात्र क्रमश २९८ र ६८९ मिलिमिटर वर्षा भएको छ । यो पछिल्लो ३० वर्षको औषत वर्षाभन्दा चार सय प्रतिशतले बढी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्