
म्याग्दी । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हलेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक अझै सञ्चालनमा आएको छैन । सडक तीन महिना बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन् ।
सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्ड अन्तरर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा सडक यातायातबाट बिच्छेद भएका छन् ।
पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण रूटको प्रयोग गर्न बाध्य छन् ।
“सडक मर्मत नहुँदा सास्ती भएको छ, मर्मत गरेपनि सामान्य वर्षाले भत्काउने गरेको छ” स्थानीय शेरबहादुर घर्तीले भन्नुभयो ।
गतवर्ष गरेको ढलानसहित डेढ किलोमिटर सडक पहिरोले बगाएपछि बैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो । पहिरोले हलेगौडा सहित आसपासका क्षेत्रका बस्ती समेत जोखिममा परेको छ ।
भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीबासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भएपनि उक्त स्थान सधै जोखिम बन्दै गएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।
‘सडक अवरुद्ध हुदाँ जनतालाई सास्ती भएको छ, मर्मतमा ठूलो बजेटको आवश्यकता देखिएको छ’ वडा अध्यक्ष पुनले भन्नुभयो ।
यसैबीच स्थानीयबासीले तत्काल सडक मर्मत गरि आवतजावतलाई सहज बनाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्