
सिन्धुली । सिन्धुलीमा वीपी, मदन भण्डारी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै अध्ययनबिना टोले सडक निर्माण गरिएका कारणले भूक्षय र प्राकृतिक विपत्ति बढेको छ ।
प्राकृतिक वातावणीय प्रभाव मूल्यांकनबिना नै जथाभावी रुपमा ग्रामीण सडक निर्माण गर्ने कार्य तीब्र रुपमा संचालन गरिएका कारण सिन्धुली जिल्लाका विभिन्न स्थानमा भूक्षय हुँदा पहिरो र बिनाश बढ्दै गएकाे हाे ।
सडक निर्माण र विकासको नाममा सिन्धुली जिल्लाको महाभारत र चुरे पहाड लगायतका क्षेत्रमा स्थानीय तहहरुले जथाभावी रुपमा संचालन गरिएका दोहनजन्य क्रियाकलापहरुलाई सम्बन्धित निकायले नियमन गर्न नसक्दा समस्या बढिरहेको छ ।
ग्रामीण सडक निर्माण, साइकलजोन, ट्रेकिङ मार्ग, मभारत र अग्ला डाँडाहरुमा भ्यू टावर जस्ता योजनाहरु आफूखुशी रुपमा सिन्धुली जिल्लाका विभिन्न स्थानीय तहहरुले संचालन गर्दा महाभारत र चुरे पहाड दिनदिनै कमजोर र उच्चाई समेत होचो हुँदै गएको छ ।
सिन्धुली जिल्लाको महाभारत पहाड र गढतिर क्षेत्रका पहाडहरुमा जथाभावी रुपमा स्काभेटर र डोजर संचालन गरी भूक्षय गरिएपछि वर्षायाममा वीपी, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गमा पहिरोको समस्या बढ्नुका साथै वातावरणीय असन्तुलनको समस्या उत्पन्न भएको छ ।
सिन्धुली जिल्लाको मध्यपूर्वी क्षेत्रको चुरे आसपासमा राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम, चुरे उत्थानशिल आयोजना लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिएता पनि भूक्षय र दोहन नरोकिंदा त्यस आसपासका क्षेत्रको उर्वरा खेती योग्य जग्गाहरु प्राकृतिक विपतिले बगरमा परिणत हुँदै जान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्