२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीमा चुनावी चहल-पहल सुरु


26
Shares

सिन्धुली । सिन्धुलीमा यहि भदाै महिनाको दोश्रो सातादेखि विभिन्न राजनैतिक दलहरुकाे चुनाव केन्द्रित चहल-पहल सुरु हुन थालेकाे छ ।

आसन्न मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका राजनीतिक दलहरूले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीहरु जस्ता गतिविधि सञ्चालन गर्न थालेका हुन् ।

निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) ले एक महिने अभियान अन्तर्गत सिन्धुली जिल्लाका वडादेखि जिल्ला स्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरी निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको छ । एमालेले पार्टी अभियान र निर्वाचन लक्षित रणनीतिक योजनासहित पार्टीका सबै तहका नेता कार्यकार्ताहरुलाई क्रियाशील बनाउन निर्देशन समेत दिएकाे छ ।

त्यस्तै, निर्वाचनलाई मध्यनजर गरेर नेपाली कांग्रेस सिन्धुलीले प्रदेश तथा संघीय निर्वाचन क्षेत्रका उम्मेदवारको सिफारिस गर्न तयारी गरिरहेको जनाएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुलीमा उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारले पनि आफ्ना चुनावी अभियान सुरु गर्न थालेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि निर्वाचनलाई लक्षित गरी सिन्धुली जिल्लामा पार्टीका आन्तरिक भेला बैठक जस्ता कार्यक्रमलाई तीव्रता दिएकाे छ । यता निर्वाचन कार्यालय सिन्धुलीले आगामी निर्वाचनका लागि १ सय ४४ मध्ये अझै ७ वटा मतदानस्थल र ४ वटा मतदान केन्द्र थप्न निर्वाचन आयोग समक्ष सिफारिस गरिएको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीबाट सिफारिस गरिएको मतदानस्थल र केन्द्र कायम भई आएमा अब मतदानस्थल १ सय ५१ वटा र मतदानकेन्द्र २ सय ७२ वटा हुनेछन् ।