१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालका अधिकांश शहरहरू अव्यवस्थित: प्रधानमन्त्री देउवा


11.583k
Shares

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश शहरहरू अव्यवस्थित भएकाे बताउनुभयाे ।

शनिबार शहरी विकास मन्त्रालयले बुटवलमा बनाएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले मुलुकमा चुनौतीहरू थपेको बताउँदै त्यसलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयाे ।

व्यवस्थित र नयाँ शहरको विकास गर्न र शहरी क्षेत्रका बासीन्दालाई आर्थिक सामाजिक काम गर्न ठोस कार्यक्रम सुरु गर्नुपर्ने उहाँले बताउनुभयाे । योजनाबद्ध शहरलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयाे,- ‘प्रदेश र पालिकाहरूबीच समन्वय र सहकार्य गरेर व्यवस्थित शहर बनाउन आवश्यक छ ।’

उहाँले काठमाडौं जस्ता ठूला शहरमा मानिसहरूको जनघनत्व अनियन्त्रित रुपमा बढेकाले त्यसलाई रोक्नका लागि हिमाल र पहाडमा शहर निर्माण गर्नुपर्ने बताउनुभयाे । उहाँले मुलुक संघीयतामा गएपछि गाउँ-नगरमा पूर्वाधार विकास भएको बताउँदै यसलाई दिगो र वातावरणमैत्री बनाउनुपर्ने बताउनुभयाे । प्रदेश र पालिकास्तरमा समन्वय र सहकार्य गरेर शहरी पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभएकाे छ ।

उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले सम्मेलन केन्द्रको उद्घाटनसँगै विकासमा बुटवलले देशको विकासको आधारशिला भएको प्रमाणित भएको बताउनुभएकाे छ । राज्यले गरेको लगानीलाई प्रतिफलमुखी बनाउनका लागि सम्मेलन केन्द्रलाई अधिकतम रुपमा प्रयोग गर्नुुपर्ने उहाँले बताउनुभयाे ।

उद्घाटन समरोहमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई हस्तान्तरण भएको अवस्थामा उपमहानगरले सञ्चालनको जिम्मा लिने बताउनुभयाे । उहाँले सम्मेलन केन्द्र निर्माणले बुटवल र प्रदेशबासीहरुलाई ठूला र अन्तर्राष्ट्रिय कार्यक्रम गर्नका लागि ठूलो सहयोग पुुग्ने बताउनुभयाे ।

कार्यक्रममा शहरी विकास मन्त्री मेटमणी चौधरी, नेकपा एमालेका उपाध्यक्ष विष्णुु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडल र पूर्वमन्त्री रामकुुमारी झाक्री लगायतले यसलाई आर्थिक उपार्जनसँग जोड्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले उद्घाटन गरेको सभाहलमा १ हजार जना मानिस अट्नेछन् ।

बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डपमा संघीय सरकार शहरी विकास मन्त्रालयकाे १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र तयार पारिएको हो ।