
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले छोरी जन्माउने आमालाई सम्मान स्वरुप पोषण खर्च बापतको ५ हजार रुपैयाँ भत्ता दिएको छ ।
सोही गाउँपालिकाले विगतमा गरेको घोषणा अनुरुप मरिण गाउँपालिका-२ की २१ वर्षीय मान कुमारी आलेलाई छोरी जन्माए बापत पोषण खर्च हस्तान्तरण गरेकाे हाे । आफ्नो गाउँघरमा रहेको बर्थिङग सेन्टरमा सुरक्षित रुपमा सामान्य प्रक्रियाले छोरी जन्माएकी आलेलाई गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पुगेर पोषण भत्ता बापत ५ हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।
सिन्धुलीको मरिणखोला क्षेत्रमा अवस्थित मरिण गाउँपालिकाको मातृशिशु सुरक्षा एवं संरक्षण कार्यविधि २०७९ अनुुसार लैंगिक समानताको लागि स्वास्थ्य केन्द्रमै छोरी जन्माउने सुत्केरीलाई पोषण खर्च नगद प्रदान गर्ने नीति गाउँपरिषदबाट पारित गरेको थियो ।
पछिल्लो समयमा छोराप्रतिको मोहले गर्दा लैंगिक विभेद बढेकाले यस्ता विभेदलाई अन्त्य गर्ने उदेश्यले सिन्धुलीमा पहिलो पटक स्वास्थ्य केन्द्रमा छोरी जन्माउने सुत्केरीहरुलाई पोषण खर्च नगद वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
मरिण गाउँपालिकाले तर्फबाट गर्भवती जाँच गर्ने २० वर्ष उमेर पुगेका महिलालाई ८ पटक जाँच गरेको १ हजार प्रदान गर्ने जनाएकाे छ । सुत्केरी हुन स्वास्थ्य केन्द्र आउनको लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरिएको मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझिले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्