
सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायतका शहर उन्मुख क्षेत्रमा दही र दूध बिक्री वितरणका लागि स्थापना भएका डेरी उद्योगहरुले किसान र ग्राहकहरुलाई प्रत्यक्ष फाइदा पुगेकाे छ ।
ग्राहकहरुको मागलाई पूर्ति गराउने मुख्य उदेश्यले दूध, दही, घ्यू र छुर्पी लगायतका दुग्धजन्य मिठाई उत्पादन र बिक्री वितरणका लागि सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडी लगायतका आसपासका क्षेत्रमा दुई दर्जन भन्दा बढी डेरीहरु संचालनमा रहेका छन् । डेरीको स्थापनाले दुग्ध उत्पादन किसानहरुरुले दैनिक रुपमा दूध बिक्री वितरण गरी पर्याप्त फाइदा लिएका छन् भने ग्राहकहरुले डेरीबाट आवस्यक परेको समयमा दूध, दही र घ्यू पर्याप्त रुपमा पाएका छन् ।
दूध उत्पादन गर्ने किसानहरुको दूधबाट बनेको छुर्पीको व्यवस्थापन तथा बजारीकरण भएसँगै सिन्धुलीको ग्रामीण क्षेत्र जलकन्या, रननचुरा र खनियाखर्कमा संचालित डेरी उद्योगहरुले विपन्न किसानहरुको आर्थिक विकासमा समेत टेवा पुगेको छ । सिन्धुली जिल्ला सदरमुकाम महाभारत पर्वत श्रृंखलामा स्थापना गरिएको सोही डेरी उद्योगले त्यस क्षेत्रका किसानहरुले पालेका गाई भैंसीहरुको दूध उचित दर रेटमा खरिद गरि डेरीहरुले दही, छुर्पी खुवा र पुष्टकारी आदि तयार गरी जिल्लाका बजारहरुमा बिक्री वितरण गर्ने गरेका छन् ।
विगतमा डेरी संचालन नहुँदा त्यसक्षेत्रका किसानहरुले उत्पादन गरेको दूध अनावस्यक रुपमा खाएर पिएर खेर जाने गरेको थियो । तर अहिले डेरीको स्थापनासँगै दूध बेचेर राम्रो कमाई भएकाे स्थानीय किसानहरुले बताएका छन् । सिन्धुली जिल्लाका डेरीहरुले स्थानीय किसानहरुबाट वर्षायाममा २५ लाख लिटर दूध किनेर संकलन गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।
डेरीमा उत्पादन भएको दुग्धजन्य खाद्य सामाग्रीहरु शहर बजारको तुलनामा अत्यन्त स्वादिलो र गुणस्तरीय भएकाले ग्राहकहरु काठमाडाैं, जनकपुर र विराटनग जस्ता स्थानहरुबाट खरिद गर्न आउने गरेका छन् । सिन्धुली जिल्लामा संचालित याे डेरीबाट त्यस क्षेत्रका २३ हजार भन्दा बढी संख्याका स्थानीय किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । डेरीको स्थापनाले स्थानीय किसानहरुले दूधका लागि गाई भैंसीको पालनमा वृद्धि गरेपछि प्रांगारिक मल उत्पानमा समेत वृद्धि भएको छ ।
प्रांगारिक मलका कारण अन्नको उत्पान समेत बढेको जनाइएको छ । जिल्लामा संचालिन सोही डेरीले सिन्धुलीमा दुग्धजन्य खाद्य सामाग्रीको आवस्यक्तालाई पूर्ति गरिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्