
काठमाडौं । हेल्थ एक्सन ग्रुपले नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानलाई प्राथमिक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
हरितालिका तीजको पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानले गरेको शुभकामना आदान प्रदान तथा तीजको दर खाने कार्यक्रममा हेल्थ एक्सन गु्रपका अध्यक्ष कुमार थापाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । मिडियाकर्मीलाई देखिन सक्ने स्वास्थ्य समस्यालाई सहयोग पुगोस भनेर प्राथामिक स्वास्थ्य उपचारका सामाग्री प्रदान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा ईमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र बिष्टले तीजको अवसरमा शुभकामना दिदै सञ्चारकर्मीका लागि प्राथमिक स्वास्थ्य उपकरण आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली नारीहरुको पवित्र चाडको रुपमा रहेको तीजको संस्कृति र संरक्षणको बारेमा प्रकाश पार्नुभयो ।
त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष शंकर खनालले प्राथमिक स्वास्थ्य उपकरण ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मीका लागि उपयोगि हुने बताउनुभयो । उहाँले हेल्थ एक्सन गु्रप र नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानले आगामी दिनमा समेत सहयोग आदान प्रदान हुने बताउनुभयो ।
पत्रकार महासंघले ईमेज च्यानलमा कार्यरत पत्रकार र कर्मचारीका लागि तीजको अवसरमा दर खुवाउने कार्यक्रम राखेको थियो । सो अवसरमा तीजको महत्व, संस्कृतिको संरक्षणमा जोड दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्