
एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले अभिनेता अक्षय कुमारको फिल्म ‘राम सेतु’ मा गलत तथ्य देखाएको भन्दै कानूनी पत्र पठाएका छन् ।
स्वामीले यो कुराको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत दिएका हुन् । स्वामीले भारतीय फिल्मलाई गलत तरिकाले प्रस्तुत गर्ने गरेका कारण आफ्ना वकिल मार्फत अक्षय र अन्य ८ जनालाई कानूनी पत्र पठाएको बताएका छन् ।
स्वामीले अक्षयको फिल्ममा राम सेतुको बारेमा गलत तथ्य देखाएर फिल्मको छवि बिगारेको आरोप लगाएका छन् । उनले गत महिनामा फिल्मका निर्माता र अक्षय विरुद्ध मुद्दा दायर गर्ने बताएका थिए । फिल्म ‘राम सेतु’ मा राम सेतुको गलत तथ्य र छवि प्रस्तुत गरेकोमा अक्षय र कर्मा मिडियाको विरुद्धमा आफु रहेको उनले बताएका छन् ।
हालै उक्त फिल्मको पोस्टर रिलिज भएको थियो । पोस्टरमा अक्षय गुफाजस्तो ठाउँमा उभिएर हातमा मशाल लिएर केही हेर्न खोजिरहेका छन् । उनीसँगै उभिएकी ज्याकलिन फर्नान्डिजको हातमा टर्च थियो । टर्च र मशाल सँगै देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मको पोस्टरलाई निकै ट्रोल गरेका छन् ।
फिल्ममा अक्षयले पुरातत्वविद्को भूमिका निभाएका छन् । जसले भारत र श्रीलंकाबीचको राम सेतुको सत्यता पत्ता लगाउन काम गरिरहेका छन्। फिल्मको सुटिङ मुम्बई बाहेक अयोध्या र उत्तर प्रदेशका विभिन्न स्थानमा गरिएको छ । फिल्ममा अक्षयका अलावा ज्याकलिन र नुसरत भरुचा पनि मुख्य भूमिकामा छन् ।
फिल्मलाई अभिषेक शर्माले निर्देशन गरेका छन् भने विक्रम मल्होत्रा र अरुणा भाटियाले निर्माण गरेका हुन् । यस फिल्मलाई आगामी अक्टोबर २४ मा रिलिज गर्ने निर्माण टीमले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्