१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली प्रदेशमा दुई मन्त्री नियुक्त


130
Shares

काठमाडौं । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । माओवादीले आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।

उनीहरू दुई जनाले मन्त्रीको सपथ लिएसँगै प्रदेश सभामा रहेका माओवादी केन्द्रका सबै सांसदहरू मन्त्री हुने भएका छन् । २०७४ मा कर्णाली प्रदेश सभामा माओवादीका १३ सांसद निर्वाचित भएका थिए । नौ जना प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने चार जना समानुपातिकतर्फ चुनिएका थिए ।

प्रत्यक्षबाट निर्वाचित सबै सांसद पुरूष हुन् । १३ सांसदमध्ये पुष्पा घर्ती बिष्ट कर्णालीकी उपसभामुख हुनुहुन्छ । बाँकी १२ जना सांसदमध्ये दैलेखका धर्मराज रेग्मी एमालेमा प्रवेश गर्नुभएको छ । सुर्खेतका ठम्मर विष्ट पनि पार्टीभित्र एकलौटी भएको भन्दै गत चैतमा एमालेमा प्रवेश गरिसक्नुभएको छ । यसैबीच नेताहरुको भाग पु¥याउन पटक पटक मन्त्रिपरिषद् हेरफेर गरेको भन्दै माओवादी नेतृत्वको चर्को आलोचना भएको छ ।