३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा सामान्य वृद्धि


52
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको छ । आइतबार ३३ अंकले गिरावट आएको नेप्से सोमबार ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ । सोमबार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक छ भने चार उपसमूहको परिसूचक नकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १.८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १.३२ अंकले बढेको छ । म्युचुअल फण्डको भने सबै भन्दा बढी १.१२ प्रतिशतले घटेको छ ।

सोमबारको कारोबारमा विन लघुवित्तको शेयर मूल्य ७.४८ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्सको ६.६४ प्रतिशतले बढेको छ । तर यता रुरु हाइड्रो पावर कम्पनीको शेयर मूल्य भने ५.७० प्रतिशतले घटेको छ । सोमबार नेपाल टेलिकमको ११ करोड बराबरको कारोबार भएको छ ।