१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अब बालेन पाँच वर्षका नायक !


1.105k
Shares

नेपालमा कसैले केही सानो काम गर्‍यो भने हल्ला गर्ने चलन छ । यो नराम्रो चलन हो । अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही नक्सा पास नभई बनाइएका पसल कबल, टहरा र महलहरूका पाली र दाँतीलाई धमाधम डोजर लगाएर भत्काउन थालेका छन् । उनले सय दिन आफ्नो जनप्रतिनिधिको यात्रा याने हनिमुन पिरियडलाई काठमाडौंको फोहर विसर्जन गर्न वर्तमानमा क्रियाशील सबै राजनीतिक पार्टीहरूका नेताहरूसँग परामर्श गरे । राय मागे । नम्र भएर तिनीहरूलाई सम्मान गरे तर तिनीहरूकै पार्टीका कार्यकर्ताहरूले उनलाई बाधा अड्चन गरेको गुनासो उनले गरे । अहिले जोकोहीका मुखमा यही बोली सुन्न सकिन्छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे । प्रचण्डसँग भलाकुसारी गरे । डा.बाबुराम भट्टराईसँग समेत सम्वाद गर्न भ्याए । ओली बालाई त उनले बालकोट दरबारमै गएर आफ्ना कुरा बिसाए जहाँ उनले तबला उपहार पाएको चर्चा त्यो बेला चल्यो ।
बास्तवमा बालेन जोजो र जसजसलाई त्यो बेलामा भेट्दै थिए त्यस बेला उनले आफ्नो भित्री मनले योजनाहरू बनाइरहेका रहेछन् । उनले अल्फा बिटा कम्प्लेक्समा रहेको अवैधानिक संरचनामा डोजर चलाउँदा धेरैले उनलाई चर्चित हिन्दी सिनेमाका एक दिनका नायक अनील कपुरसँग दाँजेका थिए । बास्तवमा बालेन अनील कपुरजस्तो एक दिनको भ¥चुअल दुनियाँका नायकमात्र थिएनन् उनी त देशको मुटु याने राजधानीका बौद्धिक र युवा मतदाताहरूको मत पाएर विजयी भएर माला पहिरेका नायक थिए ।

धेरैले उनलाई डन शैलीमा प्रचारका लागि मात्र काम गरेको भनेर समेत भने । उनले कानुन सबैलाई एउटै हुन्छ र नक्सा पास नगरी बनाइएको रहेछ भने अदालतमा समेत डोजर चल्ने भनेर भने । दसैँको मुखमा गरिखाने गरिबका टहरा, पसल कबल र घर भत्काउँदा गरिबका आँसु झरेका छन् तर त्यो कुराले उनको मिसनलाई केही प्रभाव पार्दैन किनकि उनको भित्री उद्देश्य भनेको चुनावमा भोट पाउनु छैन । फेरि उनका समर्थकहरू धेरैजसो कानुनको परिपालना हुनुपर्छ । कानुनलाई सम्मान गरिनु पर्छ र केही पनि कामै नगरी भत्ता पचाउने जनप्रतिनिधिजस्तो सुस्त र योजनाविहीन हुनु हुँदैन भन्ने मान्यता जो राख्छन् ।
जो कोही मानिसको आफू सत्तामा पुगेपछि केही नयाँ काम गरौं भन्ने उद्देश्य हुन्छ । अझ बालेन त युवा हुन् । उनी पढेलेखेका छन् । स्टकचरल इन्जिनियर (अभियन्ता) समेत हुन् । उनको भिजन, मिसन र गोल रहेको छ । उनले उनी पछि काठमाडौंको मेयर भएर आउने पछिल्लो पुस्तालाई बाटो सफा गरिदिएका छन् । कामै नगरी कुर्सी ओगट्ने र आफ्नो सिद्धान्तको रट लगाउने हर कोहीलाई बालेनले दह्रो च्यालेन्ज दिएका छन् ।

बालेनको अहिले खूब चर्चा र जमेर विरोध भएको छ । चर्चा उनले गरेको काम र कामको शैलीलाई लिएर भएको छ भने विरोधचाहिँ उनले आफूले सिद्धान्त बनाउने हो फिल्डमा गएर डन शैलीमा जनता आतङ्कित पार्नु होइन भन्ने रहेको छ । बास्तवमा बालेन जनताले चुनेर त्यहाँ आवधिक रुपमा जनताकै सेवा गर्नका लागि गएका जनप्रतिनिधि हुन् । त्यसैले जनतालाई त्राम दिने काम उनको होइन । जनप्रतिनिधि जनताको भीमकाय शासक नभएर शालीन सेवक हो भन्ने कुराहरू समेत अहिले चारैतिरबाट उठ्न थालेका छन् ।

नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले ‘गृहमन्त्री भए भन्दैमा कोही गृह मन्त्रीले बन्दुक चलाउने अधिकार नपाएजस्तै राजधानीका सर्वशक्तिमान जनप्रतिनिधिले समेत गर्न नहुने काम गरेका छन्’ भनेका छन् । उनले मात्र भनेका छैनन् । एमालेका जण्ड नेता तथा पूर्व मन्त्री महेश बस्नेतले समेत ‘बालेनको कार्य गुन्डागर्दीको शैलीमा भयो’ भनेर चित्त दुखाउने काम गरेका छन् ।

यी दुवै वर्तमान सामयिक प्रतिनिधि आवाज हुन् । नेपाली काँग्रेस र एमालेले दसकौंसम्म राजधानीबाट मेयर, उपमेयर र प्रदेश तथा संघीय संसदमा जित्ने काम गरेका छन् तर ती जनप्रतिनिधिहरूले अहिलेसम्म जनताको हृदयमा छुने खालका कुनै पनि काम गर्न नसकिरहेका बेलामा बालेनले गरेका ती कामहरूले सरासर आफ्नो भोट बैंकमा प्रहार पो भैरहेको छैन भनेर यी दुई नेताहरू झस्किन लागेका हुन् भन्दा फरक नपर्ला ।

त्यो भन्दा पनि कुरोको चुरो अर्कै रहेको छ । अहिले युवाहरू सबै पार्टीका वृद्ध र जेष्ठ नागरिक भैसकेका नेतृत्वप्रति विरोधका शैलीमा चुनावमा उठ्ने तयारी जो गरिरहेका छन् । यो चुनाव ‘युवा इन बूढा आउट’ को शैलीमा भयो भने त्यसलाई अन्यथा नलिँदा हुन्छ । धेरै समय भयो नेपालमा उही टेष्टेड नेताहरूले पालैपालो शासन गरेको देखियो । कसैले पनि नयाँ सोच, कार्यक्रम, भाँती र परिवर्तनका बौछारहरू नगरेकाले मतदाताहरू दिक्कवाक्क भएर बालेन, हर्क र गोपी हमालहरूका पछि लागेका हुन् । यो जनताको आफ्नो छनोट हो । कसैलाई मन पराउन वा मन नपराउन मतदाताहरू आफैँमा स्वतन्त्र छन् ।

आउने चुनाव देशमा अनौठो पारामा हुँदैछ । चुनावको मुखमा ठूला राजनीतिक पार्टीका नेताहरू कुनै पनि दुस्साहसपूर्ण निर्णय लिन या जनताले देख्ने, भोग्ने र सुन्ने गरी काम गरेर भए गरेका भोट बैंकलाई बिगार्न चाहँदैनन् । तर बालेनलाई न भोट लिनु छ न पछि अर्को चुनावमा पुनः दोहोरिएर जनताको अभिमत बटुलेर फेरि कुर्सीमै बस्नु छ । न आगे न पिछे न उपर न निचे भन्ने शैलीमा उनले आफ्नो ब्रह्मले देखेका कुराहरू गरेका छन् । त्यसैले उनी स्याबासीका पात्र भएका छन् ।

सहरलाई खुला, हराभरा, बस्नलायक र प्राचीन शैलीमै फर्काउने बालेनलाई अहिले युवा, वृद्ध र बुद्धिजीवी सबैले साथ सहयोग दिएका छन् । उनलाई यसैगरी भविष्यमा समेत सहयोग गर्नु हरेक मतदाताको परम् कर्तव्य समेत हो । पुरानो एउटा कथामा बिरालाको घाँटीमा घन्टी बाँध्नका लागि सबै बिरालाहरूले डराएर पछि सर्दा बिरालोले एकएक गरी मुसो खाएझैँ अब पनि कसै न कसैले यस्तो प्रकारको जोखिम मोल्नै पर्दथ्यो त्यो बालेनले उठाएका छन् । यो मानेमा उनी पाँच वर्षका लागि जन अभिमत पाएर बनेका नायक हुन् ।

एकदिन, दुईदिन, तीनदिन उनको विरोध हुन्छ, हुनसक्छ । पछिपछि त्यो विरोध आफैँमा साम्य हुन बाध्य हुन्छ । आउने नव पुस्ता या सन्ततीका लागि समेत बालेनले महानगरको माष्टर प्लानलाई अघि सारेर अझ केही महिना डोजरका पछि नलागी काठमाडौं सहर बस्नलायक हुँदैन । यो अहिलेको आम मानिसको मानसिकता समेत हो । काम गर्ने मान्छेकै यहाँ विरोध हुने गर्छ । उनले कामै गर्न नसक्ने भएको भए चुनावअघि सञ्चार माध्यममा आएर मतदातालाई यति विधि सपना देखाउनै पर्दैनथ्यो । त्यसैले पनि उनी ठीक छन् । बल्ल काठमाडौंले राइट म्यान राइट प्लेसको उदाहरणमा फिट हुने विकासे नेता पाएको भन्न सकिन्छ ।

तर अझै उनले काठमाडौं उपत्यकालाई सुन्दर बनाउन गर्ने अरु कामहरु हेर्न बाँकी नै छन् । अब उनले कस्ता काम गर्ने हुन् त्यसलेनै उनको मूल्यांकन हुनेछ ।