२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमालेकै सहमतिमा नागरिकता विधेयक ल्याएको हो : गृहमन्त्री खाँण


169
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एमाले)को सहमतिमै सरकारले नागरिकता विधेयक ल्याएको बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा नागरिकता विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै गृहमन्त्री खाँणले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरी सहमतिमै सरकारले सो विधेयक अघि बढाएको दावी गर्नुभयो । उहाँले प्रतिपक्षीको परामर्शमा आएको विधयक भएकाले संसदको दुवै सदनबाट पारित गराएको जिकिर गर्नुभयो । उहाँले सो विधेयक केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशमा आधारित रहेको पनि समितिलाई जानकारी दिनुभयो ।

गृहमन्त्री खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको सो विधेयकमा केही समवेदनशील र महत्वपूर्ण विषय रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर जान सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले नागरिकताका सम्बन्धमा संविधानकै केही प्रावधान परिष्कृत र परिमार्जित गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई अघि बढाउन पनि सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री खाँणले विवाह गरेर भित्र्याइएका विदेशी बुहारीलाई नागरिकता दिने विषय, पहिचान नखुलेका अल्पसंख्यकलाई दिने नागरिकताको विषयमा सरकारले गम्भिर भएर सम्वद्ध पक्षसँग छलफल गरेर अघि बढने पनि बताउनुभयो ।