११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बिशाल बजार क्षेत्रका पसललाई २४ घण्टे अल्टिमेटम


18.746k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली देशकै प्रमुख व्यापारिक स्थल न्यूरोडको व्यवसायिक भवनका बेसमेन्ट खाली गराउने अभियानमा जुटेको छ । त्यसक्रममा सुरज आर्केड, बीरा कम्प्लेक्स, बसन्तपुर कम्प्लेक्स, चन्द्र महल, मखन प्लाजा, चन्दा चकोरी भवनका बेसमेन्ट हटाउन महानगरले कडाई गरेको छ । कतिलाई चौबीस घण्टे अल्टिमेट दिइएको छ भने कतिपय खाली गराउन जुटेका छन् ।

महानगरले राजा महेन्द्रको पालामा खुलेको विशाल बजार हातामा रहेका पसल २४ घण्टाभित्र खाली गराउन उर्दी लगाएको छ । विशाल बजारको बाहिरी क्षेत्रमा रहेका सटर निर्माणस्थलको नक्सा माग्दा समितिले उपलब्ध गराउन नसकेपछि अनाधिकृत बनाइएका संरचनामा महानगरले डोजर लगाउने चेतावनी दिएको छ । महानगरको चेतावनीबीच बिगत २४ वर्षदेखि ब्यबसाय सञ्चालन गर्दै आएका व्यापारी अन्योलमा छन् ।

महानगरको प्रहरी टोली सोमबार बिशालबजार र बीरा कम्प्लेक्स पुग्दा रमितेहरुको कमी थिएन । कोही यस अभियानलाई ठीक र कोही बेठिक भन्दै टिप्पणी गर्दै थिए ।

एक हप्तादेखि न्युरोडस्थित व्यापारिक भवनका बेसमेन्ट धमाधम खाली गर्न महानगरले दिएको समयसीमा बेवास्ता गरेपछि महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले पुन सोही क्षेत्रमा पुगेर बेसमेन्ट खाली गर्न निर्देशन दिँदा ब्यापारी र महानगर प्रहरी टोलीबीच भनाभन समेत भएको थियो । बिरा कम्प्लेक्समा रहेका बेसमेन्टलाई स्टोर रुमको रुपमा प्रयोग गर्दै कर समेत तिर्ने गरेको व्यापारीहरु बताउँछन् । व्यवसायीकै मनोमानी गतिविधिले नै यो अभियान निम्तिएको कतिपयको बुझाइ छ ।

वर्षौंदेखि थाँती रहेको समस्या समाधानमा निश्चय नै जटिलता आउने नै भयो । तर यससँगै आउने बहुआयामिक समस्या सबै पक्षको गुनासो सुनेर निदान खोज्न आवश्यक छ ।