
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीसँग नागरिकता विधेयक र निर्वाचन तयारीका बारेमा जिज्ञासा राख्नुभएको छ ।
दोस्रो पटक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा नागरिकता विधेयक अड्किरहेका बेला राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित कांग्रेसका पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको हो ।
छलफल क्रममा प्रधानमन्त्री देउवाले अघिल्लो सरकारले ल्याएको अध्यादेशकै आधारमा नागरिकता विधेयक ल्याएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आसन्न निर्वाचनको तयारी र सुरक्षाका बारेमा पनि जिज्ञासा राखेको नेताहरुले बताएका छन् ।
छलफलमा प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा सहभागी हुनुुहुन्थ्यो । पछिल्लो समय सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक कुनै छलफल नगरी प्रतिनिधिसभामाबाट पारित भएपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट रहेको समाचार सार्वजनिक भएका छन् ।
राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रिय सभाले संसदीय समितिमा पठाएको छ । राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको विधेयकलाई राष्ट्रिय सभाले पुनर्विचारका लागि विद्यमान व्यवस्थापन समितिमा पठाएको हो ।
यसैबीच प्रधानमन्त्रीसहित कांग्रेसका नेताहरुसँगको छलफपछि राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई पनि शितलनिवास बोलाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरु शितलनिवासमा पुग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्