१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केन्यासँग नेपाल ७ रनले पराजित


208
Shares

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौंथो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपाल पराजित भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो । केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए । करण केसी ५ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सकेनन् । सन्दीप लामिछाने ४ रनमा अविजित रहदा साहब आलम सुन्य रनमा अविजित रहे ।

केन्याका रकिप पटेलले ३ विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए । यस्तै कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए ।

उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरमा मात्र ९ रन खर्चिए । आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । यो जितसँगै पाँच खेलको टी–ट्वान्टी सिरिजमा केन्याले २–२ को बराबरी गरेको छ । अब निर्णायक मानिएको नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी भोलि हुने छ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुने छ ।