
दीपक चालिसे
फ्रान्स । हिन्दु महिलाहरुको महान चाड तीज पर्वका अवसरमा फ्रान्समा पनि विविध कार्यक्रम आयोजना गरिएको छ ।
गैर आवासीय नेपाली संघ फ्रान्सले सोमबार साँझ आयोजना गरेको तीज विशेष कार्यक्रममा फ्रान्समा रहेका नेपाली महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । पेरिस नजिकैको कृतेइ शहरमा रहेको लाक दि हिमालयन (तालको छेउको हिमालय ) भन्ने नेपाली रेस्टुरेन्टमा दर खाने कार्यक्रमको आयोजना गरिएको थियो । त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा महिलाहरु नेपाली पहिरनमा सजिएका थिए । कार्यक्रमलाई प्रायोजन भने उक्त रेस्टुरेन्टका संचालक सुमन पौडेल लगायतले गरेका थिए ।
विदेशमा रहेपनि आफ्नो संस्कृतिलाई जीवन्त राख्न नेपाली महिलाहरुले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको र तीज जस्तो पर्व मा सहयोग गर्न पाउँदा आफू निकै गौरवान्वित भएको पौडेलको भनाई छ । तीज पर्वले विदेशमा पनि नेपाली कला,धर्म संस्कृति जस्ता विषयलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको पनि पौडेलले बताए ।
फ्रान्समा रहेर सामाजिक सेवामा समेत सक्रिय जीता कटुवालले नेपाली कला र संस्कृतिको सम्वद्र्धनमा प्रवासी नेपाली सदैव लागिरहेका भन्दै तीज विदेशमा रहेका नेपाली दिदी बहिनीहरुसँग भेटघाट हुने महत्वपूर्ण माध्यम भएको बताइन् । सात समुन्द्र पारी रहेर पनि नेपाली रीतिरिवाज र प्रचलनहरु विदेशीमाझ चिनाउन प्रवासी नेपालीहरुले ठूलो योगदान दिएका कटुवालको भनाई छ ।
एनआरएन फ्रान्सकी अध्यक्ष गीता खनालले यसरी सबै नेपाली दिदी बहिनीहरुलाई एकीकृत गरेर तीजको कार्यक्रम गर्न पाउँदा निकै गौरवान्वित भएको बताइन् । उनले प्रवासमा रहेका नेपाली दिदीबहिनीहरुलाई आफ्नै माईतमा गएर तीजको रमाईलो गरेको अनुभव होस भनेर तीज कार्यक्रममा नेपाली दाजुभाइलाई समेत निमन्त्रण गरेर कार्यक्रम आयोजना गरिएको बताईन् । नेपाली मौलिक संसकृतिको जगेर्नामा हामी नेपाली जहाा भएपनि लाग्नु पर्ने अध्यक्ष खनालको भनाई छ ।
नेपाली संस्कृतिमा केही विकृतिहरू पनि प्रवेश गरेका भन्दै तीज विगतको जस्तो रमाइलो नभए पनि यसले केही न केही जागरण भने पैदा गरेको गैरआवासीय नेपाली संघ फ्रान्सका संस्थापक सदस्य हरिप्रसाद सापकोटाले बताए ।







प्रतिक्रिया दिनुहोस्